हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले अन्ततः १० नम्बरको जर्सी आफ्ना युवा खेलाडी अन्सु फातिलाई दिएको छ।
फाति बार्सिलोनाको आफ्नै एकेडेमी ला मासियाको घरेलु उत्पादन रहेका छन्।
सन् २०१२ मा बार्सिलोनाको ला-मासिया संग आबद्ध भएका फातिले सन् २०१९मा आफ्नो सिनियर डेब्यु गरेका थिए।
अन्सु फातिलाई अहिले समयको होनहार युवा प्रतिभाको रुपमा विश्व फुटबल जगतमा हेरिने गरिएको छ।
क्लब लेजेण्ड लिओनेल मेस्सिले क्लब छाडेपछि उनले लगाउने गरेको १० नम्बरको जर्सी खाली भएको थियो।
यसै सिजन उक्त जर्सी नम्बर खाली रहने कुरा चलिरहेको बेला बार्सिलोनाले उक्त नम्बर अब युवा खेलाडी फातिले लगाउने स्पस्ट पर्दै सामाजिक संजालमा जानकारी दिएको छ।
अन्सु फाति बार्सिलोनाका लागि गोल गर्ने सबैभन्दा कान्छो खेलाडीका रुपमा परिचित छन्। ओससुना विरुद्ध गोल गर्दा अन्सु फाति केवल १६ बर्ष १० महिनाका थिए।
यस्तै च्याम्पीयन्स लिग फुटबलमा गोल गर्ने सबै भन्दा कान्छो खेलाडीको रकेर्ड पनि फातिकै नाममा रहेको छ। सन् २०१९मा इन्टर बिरुद्ध गोल गर्दा फाति १७ वर्ष ४० दिनका थिए।
१८ बर्षीय युवा खेलाडी फातिले बार्सिलोनाका लागि ४१ खेल खेल्दै १३ गोल गरिसकेका छन्। निकै क्षमतावान फतिलाई अबको बार्सिलोनाको स्टार खेलाडीको रुपमा हेर्ने गरिएको छ।
बार्सिलोनामा रोमारियो, रोनाल्डिन्हो, डिएगो म्याराडोना, रिवाल्डो र मेस्सी जस्ता महान हस्तीहरुले लगाएको हुँदा अब युवा खेलाडी फातिमाथि जिम्मेवारी भने अवश्य बढ्ने छ। आफ्ना पुर्बबर्ती महान खेलाडीहरुले देखाएको खेल कौशलताको जिम्मेवारी फातिमाथि आएको छ।
बार्सिलोना संकटको घडीमा चलिरहदा टीमलाई एउटा महत्वाकांक्षी योजनामा लैजान र टीमलाई जित दिलाउन पूर्व १० नम्बरका खेलाडीहरुले गरेको कमाल अन्सु फातिले गर्छन गर्दैनन् त्यो त समयले बताउने नै छ।
तर पूर्व महान खेलाडी मेस्सिले हिडेको बाटोमा आफुलाई डोहोर्याउन सजिलो भने अन्सु फातिलाई पक्कै हुने छैन।