हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तराष्ट्रिय टि ट्वान्टी प्रतियोगिताको लागि मान्यता पाएको झन्डै एक दशक हुन लागेको छ।
अन्तर्राष्ट्रिय टि-ट्वान्टी मान्यताप्राप्त सँगै सन् २०१९मा नेपाली टोलि एकदिवसीय मान्यताप्राप्त पनि भइसकेको छ।
एक समय नेपालले पनि अन्तर्राष्ट्रिय क्रिकेटमा मान्यता प्राप्त भएपछि कस्तो हुन्छ होला? भन्ने प्रश्न मान्यता प्राप्त भइसकेपछि कसरी सम्भव भयो? भन्ने प्रष्ट तिर धकेलिएको छ।
अन्तर्राष्ट्रिय क्रिकेटमा कुनैपनि टोलीले यति धेरै अवसर पाउँदा आफूलाई बढी भन्दा बढी विश्व समुदायमा प्रस्तुत गर्ने क्षमता राख्दछन्।
तर नेपालको परिप्रेक्ष्यमा भने त्यसको विपरीत हुने गरेको छ।
आफूभन्दा अब्बल प्रतिद्वन्द्वीहरु सँग खेल्ने मौका पाउँदा पाउँदै पनि नेपाली क्रिकेट बोर्डले त्यसका लागि उचित पहल नै गर्दैन।
त्यसको प्रत्यक्ष असर भने ठुला प्रतियोगिताहरुमा बारम्बार आँफु संगैका राष्ट्रले मात दिने गरेको नतिजामा देखिन्छ।
पछिल्ला केही समयमा निकै उतारचढाव देखिएको नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दा पनि चाहे घरेलु सिरिज होस या बिदेशी आँफु भन्दा ठुला टोलीसँग खेल खेलेको देखिँदैन।
उसै त संरचनाहिन बनेको घरेलु क्रिकेट, त्यसमाथि उत्पादन गर्नुपर्ने खेलाडी र खेलाडीलाई चाहिने विकास हरेक कुरामा चुकेको नेपाली क्रिकेट, एक समय आफू सँगैका राष्ट्रहरु माझ पनि झन झन पछाडि पर्दै गइरहेको छ।
वर्षमा एकपटक फाट्टफुट्ट कुनै प्रतियोगिता आयोजना भइहाल्यो भने पनि, नेपालले आफूभन्दा माथि रहेका आयरल्यान्ड जिम्बाबे अफगानिस्तान जस्ता बलिया प्रतिद्वन्द्वीहरु विरुद्ध खेल्नका लागि अथवा खेलाउनका लागि कुनै पनि पहल गरेको देखिँदैन।
पाकिस्तान, अष्ट्रेलिया, भारत, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका जस्ता राष्ट्र त परै जाओस् नेपालसँगै क्रिकेट खेलेर हुर्किएका बंगलादेश, अफगानिस्तान र आयरल्याण्डसँग पनि नेपाली क्रिकेट बोर्डले समन्वय गर्न सक्दैन।
पुरुष क्रिकेटको उमेर समूहमा एक समय अब्बल भएको नेपाली युवा समूहलाई अहिले मलेसिया, दुबई, कतार जस्ता राष्ट्रले पनि राम्रो चुनौती दिन थालेका छन्।
जो नेपालभन्दा निकै पछि क्रिकेट खेल्न सुरु गरेका थिए अथवा भनौँ नेपाली क्रिकेटको स्तरमा एक समय थिएनन्, तर अहिले युवा स्तरमा होस या सिनियर क्रिकेटमा, नेपालसंग सँगै तल्लो डिभिजनमा खेल्ने हरेक टोलीले एकपछि अर्को फड्को मार्न थालेका छन्।
सधै आईसीसीको बाषिर्क क्यालेन्डरमा भरपर्ने नेपाली क्रिकेट टोलीले अन्य क्रिकेट बोर्डहरु सँग समन्वय नगर्दा अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिग्रदै गएको त छ नै साथै नेपालले पाएका अन्तराष्ट्रिय मान्यताहरू पनि गुम्ने सम्भावना बढेर गएको छ।
समय छँदै क्रिकेटको विकास र स्तरोन्नतिका लागि अब पनि पहल नगरे नेपाली राष्ट्रिय क्रिकेटको भविष्य निकै अन्धकार देखिन्छ। आफूसंगै क्रिकेट खेलेर हुर्केका राष्ट्रले बारम्बार चुनौती दिनु र नेपाल आफूले विकासमा पहल नगर्ने हो भने एक समय केन्या कै जस्तै हविगत हुने पक्का छ।