हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अन्तरास्ट्रिय फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक अफ्रिकन राष्ट्र विरुद्ध मैत्रीपूर्ण खेलको सिरिज आफ्नो पक्षमा पारेको छ।
दुबै खेलमा समान १-० गोल अन्तरको नतिजा निकाल्दा नेपालले कुनैपनि अफ्रिकन टोलीलाई पराजित मात्र गरेन वरियतामा आफ्नो स्थान सुधारका लागि महत्वपूर्ण अङ्क पनि पाएको छ।
खेलका लागि तुलनात्मक रुपमा नेपालले आफू बराबरकै प्रतिद्वन्दि पाएको थियो। पहिलो खेल देखिनै शारीरिक रूपमा आफूलाई निकै अब्बल देखाएको मौरिसियस टोलीले नेपाल विरुद्ध हैसियत अनुसारकै खेल पस्केको थियो।
साफ च्याम्पियनशिप शुरु हुनुभन्दा अघि भारतविरुद्ध खेलेको दुई मैत्रीपूर्ण खेलमा जस्तो प्रदर्शन नेपालले दोहोर्याउन नसकेपनि, उक्त नतिजा आत्मसात गर्नु नेपाली फुटबलको आगामी दिनको योजनाका लागि राम्रो रहेको छ।
आसन्न एएफसी च्यालेन्जकप प्रतियोगितामा नेपालले सहभागीता जनाउनु अघि वरियतामा केही सुधार गर्ने लक्ष्य सहित राखिएको यो मैत्रीपूर्ण खेलले नेपालका कमी कमजोरीलाई सुधार गर्ने मौका दिएको छ।
नतिजा संगै प्रशीक्षक अल्मुताईरीले योजना अनुसारनै नेपाली फुटबल डोहोर्याउन खोजेको स्पस्ट देखिन्छ।उनले नेपाली टोलि सम्हालेपछि नयाँ-नयाँ फर्मेसन र रणनिती अपनाउदै गएका छन् जसको फल स्वरूप नेपालले मौरिसियस विरुद्ध केहि नयाँ पस्कने कोशिस गरेको थियो।
दुबै मैत्रीपूर्ण खेलमा जित निकालेपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खुशी देखिएका थिए। दोस्रो खेलमा पनि जित आत्मसाथ गरेपछि उनले आफ्नो प्रतिक्रिया दिएका थिए:
‘हामीले आज जित्यौं । महत्पूर्ण कुरा आज ३-४-३ को रणनीतिमा खेल्यौं । ७० प्रतिशत नेपालले बल पोसेसन राख्यो,’ अलमुताइरीले भने, ‘नेपाली खेलाडीले राम्रो टिमसँग फाइट गर्न सक्छ भनेर देखाएको छ। म धेरै खुसी छु।’
यस्तै अलमुताइरीले आफ्नो योजनामा दुबै खेलमा जित निकाल्ने कुरा नरहेको समेत बताए।
‘म सत्य कुरा गर्छु । मेरो योजनामा दुबै खेल जित्ने थिएन । एक बराबरी, एक जित वा एक जित एक हार हुन्छ भन्ने लागेका थियो । तर, धेरै राम्रो भयो,’ उनले थपे ।
प्रशिक्षक अलमुताइरीले कोभिडको कारण दुई खेलका लागि दुई टिम बनाएको पनि बताए। सोहि रणनिती टोलीमा प्रतिभावान र युवा खेलाडीहरुले मौका पाएका छन्।