हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| मंगलबार विहान अप्रत्यासितरुपमा सामाजिक सञ्जालमार्फत आफ्नो सन्यासको घोषणा गर्दै पारस खड्काले नेपाली खेलकुद प्रेमिहरुका मनमा बिहानै तरङ्ग पैदा गरिदिएका थिए।
‘अब के गर्लान त? किन यति छिटो सन्यास? आगामी दिनका योजनाहरू के छन् त?’
सबैको मनमा बसेको यस कौतुहलतालाई केही विश्राम दिने क्रममा बुधबार दिउसो पूर्वकप्तान तथा खेलाडी पारस खड्काले प्रेस मिट कार्यक्रमको आयोजना गरेका थिए।
कार्यक्रममा बोल्दै पारस खड्काले आफूले लिएको निर्णय,भावी दिनहरुका लागि योजना तथा क्रिकेटको दीर्घकालीन विकासका लागि गरिनुपर्ने कार्यहरुका बारेमा आफ्ना धारणाहरु प्रस्तुत गरेका थिए।
किन यति चाँडै सन्यास? भन्ने प्रश्नमा, उनले विगत डेढ दशकदेखि नेपाली क्रिकेटमा आफ्नो समय बिताउँदै आएको हुँदा सो निर्णय हतारमा गरिएको उद्घोष नभएको भन्दै प्रष्ट्याएका थिए।
क्रिकेटबाट नै आफूले सबैथोक पाएको हुँदाहुँदै पनि अब भने नेपाली क्रिकेटको विकासका लागि दीर्घकालीन रुपमा लाग्नु पर्ने भएकाले सही समय कुरेरै निर्णय लिएको उनले बताएका थिए।
आफ्नो खेलाडी जीवन को शुरुवातमा जस्तो बाधा अहिलेको पुस्तामा नभएको हुँदा अब सम्पूर्ण जिम्मेवार व्यक्तिहरुले सोच्ने समय आएको उनले बताएका थिए।
आफूले खेल्दा नेपालले एकदिवसीय मान्यताप्राप्त गरेको भए अहिलेसम्म आफुले टेष्ट खेलिसकेको हुने तर त्यसो हुन नसकेको हुँदा अबको चुनौती भनेको यहि एकदिवसीय मान्यतालाई साथ लग्दै टेस्ट क्रिकेट पनि नेपालमा भित्र्याउनु पर्ने कुरामा उनको जोड थियो।



प्रविधि, सोच र क्षमता आफ्नो पुस्तामा भन्दा अहिलेको पुस्तामा बढि रहेका हुनाले उनले अबको आगामी एक दशकभित्र टेस्ट मान्यता पाउने लक्ष्यसहित अगाडि बढ्नुपर्ने धारणा प्रस्तुत गरेका थिए।
क्रिकेटमा अहिलेको समयमा हरेक क्षेत्रमा अवसर रहेको हुँदा सन्यास पछि प्रशिक्षक अथवा कमेन्ट्री अथवा बाहिरका लिगहरू बढिरहेको अवस्थामा आफूलाई पायक पार्ने जे पनि गर्न सकिने उनले बताएका थिए।
पारसले उक्त कार्यक्रममा बोल्दै आफूले क्रिकेट एकेडेमी सञ्चालन गर्ने कुराको खुलासा गरेका थिए। तीन चार महिनामै काठमाडौंमै क्रिकेट एकेडेमी खोल्दै सो एकेडेमीलाई नेपालभरी विस्तार गर्ने योजना रहेको उनले बताएका थिए।
नेपाली राष्ट्रिय टिमको कप्तानी सम्हालेसँगै व्यवस्थापकीय जिम्मेवारी वहन भएको हुँदा, भविष्यमा क्रिकेट संघमा आफूलाई जुनसुकै पदमा पनि देख्न सकिने कुरा उनले बताएका थिए। राष्ट्रिय टिममा भएको अनुभवकै कारण आफू व्यवस्थापकीय जिम्मेवारी मा आउन रोजेको उनले बताएका थिए।
साथै क्रिकेटको दीर्घकालीन विकासको लागि जरै बाट लाग्नुपर्ने उनले बताएका छन्। नेपालको स्तर बाहिर देखेजस्तो खराब नरहेको कुरा जिकिर गर्दै अब आउने दिनहरुमा क्रिकेटको विकासका लागि जिल्ला र प्रदेश वीचको समन्वय एकदम राम्रो हुनुपर्ने उनले बताए।
भविष्यमा क्रिकेट संघको मातहत बाटै नेपालको हरेक ठाउँमा क्रिकेट प्रतियोगिताहरु सञ्चालन गर्दै क्रिकेटको प्रवर्द्धनमा पनि लाग्ने उनले बताएका थिए।
कार्यक्रममा बोल्दै पूर्व कप्तान पारसले नेपाल सरकारले क्रिकेट प्रतियोगिता मात्र नभएर हरेक खेललाई प्राथमिकतामा राखेर हरेक स्तरबाट खेलाडी तथा जनशक्ति उत्पादन गर्नु पर्ने कुरामा जोड दिएका थिए। र त्यसका लागि सबैजना सबै स्तरबाट सँगै मिलेर अगाडि बढ्नु पर्ने कुरा उनले प्रष्ट्याएका थिए।
क्रिकेट बाहेक राजनीतिमा पनि आफुले केही गर्न सक्छु भन्ने लागेको खण्डमा र आफ्नो क्षमतालाई सही मार्गदर्शन दिने अवसर र वातावरण मिलेमा राजनीतिमा पनि अवश्य आउने सक्ने कुरा उनले खुलाएका थिए। तर अहिले भने आफूले क्रिकेट बाहेक अरु केही पनि नसोचेको र क्रिकेटकै विकासका लागि आफु आगामी दिनहरुमा लागि पर्ने कुरा बताए।