हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रिकेटका पारखीहरु मध्ये निकै लोकप्रिय रहेको इन्डियन प्रिमियर लिगमा आज चेन्नई र मुम्बई भिड्दैछन्।
इन्डियन प्रिमियर लिगको इतिहासमा सर्वाधिक सफल क्लब रहेका यी दुबै टोलीको खेल निकै बहुप्रतिक्षित मानिन्छ।
अझ फुटबलको भाषामा भन्ने हो भने यस खेललाई आईपिएलमा सबैभन्दा महत्वपूर्ण डर्बी खेल भन्न मिल्छ।
मुम्बई इन्डीयन्स सर्बाधिक ५ पटकको विजेता हो भने दिनै चेन्नाईले ४ पटक यस उपाधि आफ्नो नाम गरेको छ।
अझ चेनाई त यसपटकको संस्करणमा डिफेण्डिङ च्याम्पियन रहेको छ।
हरेक संस्करणमा प्रमुख दावेदारका रुपमा यी दुवै टोलीलाई हेरिने भएतापनि यस संस्करणको कथा भने पृथक छ।
प्राय: जसो शीर्ष दुई स्थानका लागि प्रतिस्पर्धा गरिरहने यी दुबै टोली यसपटक तालिकामा पुछारमा रहेका छन्।
अझ सर्बाधिक विजेता मुंबई त यसपालि जितविहीन रहँदै सबै छ खेल हार्न पुगेको छ। चेन्नईले समान छ खेल्दा केवल एक मात्र जित हात पारेको छ।
यसपटक दुबै टोलीमा अरू बेलाको जस्तो दाबेदारी प्रस्तुत गर्न सक्ने खालका खेलाडी छैनन्।
दुवै टोलिले ब्याटिङ र बलिङ दुबै क्षेत्रमा संघर्ष गरिरहँदा म्याच विनरको कमि भएको प्रष्ट देख्न सकिन्छ।
टिममा भरपर्दा र अनुभवी खेलाडीहरूको प्रदर्शनले निखारता पाउन नसक्दा, दुबै टोली हाल तालिकाको पुछारमा रहेका छन्।
मुम्बई इण्डियन्सले चर्को रकममा भित्र्याएका ओपनर ब्याट्सम्यान इशान किशन संगै कप्तान रोहित शर्माले ठोस सुरुवात दिलाउन नसक्दा, टोलीले राम्रो स्कोर बनाउने अवसर गुमाइरहेको छ।
प्रतियोगिताको झन्डै मध्य अवधिसम्म आइपुग्दा विगतका तीन खेलमा माथिल्लो क्रमका ब्याट्सम्यान सुर्य कुमार यादव र डेवाल्ड ब्रेभिसले मुम्बईको पारी सम्हालिरहेका छन्।
अर्को तिर चेन्नाई सुपर किंग्स तर्फबाट बलिङ राम्रो हुन सकेको छैन। अघिल्लो खेलमा जोर्डनको नमिठो पिटाइले पनि चेन्नाईले खेल गुमाउन पुगेको थियो।
ब्याटिङमा पनि शिवम डुबेलाई साथ दिने अन्य खेलाडीहरु नहुँदा चेन्नाईले ६ मध्ये ४ खेलमा १३० देखि १६० सम्म औसत ब्याटिङ स्कोर बनाएको छ।
आजको खेल गुमाउने कुनै एक टोलीले यस संस्करणबाट खाली हात फर्कनुपर्ने निश्चित देखिन्छ।