हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ । युरोपियन च्याम्पियन चेल्सी यसपटक नयाँ स्ट्राइकर भित्र्याउनका लागि जोडतोडले मार्केटमा प्रस्तुत भएको छ।
अघिल्लो सिजन चेल्सीमा आएका स्ट्राइकर टिमो वेर्नरले खासै कमाल देखाउन नसकेपछि चेल्सी नयाँ स्ट्राईकरको खोजीमा लागिपरेको हो।
आफ्ना अर्का फरवार्ड ओलिभियर जीरुड एसी मिलान गइसकेको अवस्थामा चेल्सीले एकजना नयाँ फरवार्ड किन्नै पर्ने देखिन्छ।
यस्तोमा चेल्सीले आफ्ना पुराना स्ट्राइकर रोमेलु लुकाकुलाई फेरि भित्र्याउने कोशिस शुरु गरेको छ।
यसै सातामात्रै इन्टर मिलानले चेल्सीको सय मिलियन को प्रस्ताव अस्वीकार गरेको थियो। आफ्ना महत्वपूर्ण खेलाडी हकिमी गुमाइसकेको इन्टर मिलानले लुकाकुलाई हर हालमा राख्ने कुरा जनाइरहेको छ।
तर इन्टरको आर्थिक गतिविधि २ सिजन यता कमजोर भइरहेको हुँदा चेल्सीले आफ्नो प्रस्तावलाई सुधार गर्दै १२० अथवा १३० मिलियन प्रस्ताव गरेमा इन्टरले लुकाकुलाई छाड्न सक्ने अड्कल लगाउन थालिएको छ।
म्यानचेस्टर युनाइटेड छाडे देखी उत्कृष्ट लय समातेका रोमेलू लुकाकुले यस सिजन इन्टरका लागि ४४ खेलमा ३० गोल गरेका थिए। लुकाकुले लिगमा २४ गोल गर्दै इन्टर मिलानलाई ११ वर्ष पछाडि सेरीए को उपाधि जिताएका थिए।
बेल्जियन क्लब एण्डरलेक बाट करियरको सुरुवात गरेका लुकाकु सन् २०११ मा चेल्सी आएका थिए। दुइ बर्षको लन्डन बसाईका क्रममा उनले केवल १५ खेलमा मात्र आफ्नो प्रस्तुति देखाउन पाएका थिए। मैदान मा चेल्सीबाट खेल्ने समय नपाए पछि उनि एवर्टन गए।
एवर्टनमा ३ सिजन बिताएका उनले १६६ खेलमा ८७ गोल गर्दै आफुलाई एक उत्कृस्ट फरवार्डका रुपमा चिनाईसकेका थिए।
करिब ३ बर्ष एवर्टनबाट खेलिसकेपछि उनलाई जोसे मोउरिन्होले २०१७ को समर ट्रान्सफरमा म्यानचेस्टर युनाईटेडमा भित्र्याए। युनाईटेडमा पहिलो सिजन ठिकै गरेपनि दोस्रो सिजनमा भने उनको निकै ठुलो आलोचना भएको थियो। बेन्चमा पर्न थालेपछि लुकाकुले क्लब छाड्ने कुरा बजारमा मज्जाले तात्तियो।
हल्ला भए अनुसारनै युनाईटेडले लुकाकुलाई ८० मिलियनमा इन्टर मिलनलाई बेच्यो पनि। उनि आफ्नै रोजाईको इन्टरमिलान पुगेका थिए। प्रशिक्षक एन्टोनियो कोंटेले पनि निकै रुचाएको खेलाडी थिए रोमेलु। उनकै प्रशिक्षणमा लुकाकुले आफ्नो खेल जीवनको उत्कृस्ट समय मिलानमा बिताएका छन।
लुकाकुले पछिल्लो दुइ सिजनमा इन्टरका लागि ९५ खेल खेल्दै ६४ गोल गर्न सफल भएका छन्। यसपाली लिगमा २४ गोल गरेका उनले, इन्टरलाई ११ बर्ष पछि सेरिए को उपाधि जिताउन प्रमुख भूमिका खेलेका थिए।
शारीरिक खेल खेल्ने एवं एकदम छिटो गति भएका फरवार्ड, उनले आफ्नो फिनिसिङ कलालाई पनि उत्तिकै माहिर बनाएका छन्।
इंगलिस लिगको पनि अनुभव भैसकेको कारण उनलाई अनुकुल हुन समय नलाग्ने भएको हुनाले चेल्सी अहिले कम्मर कसेर उनको पछि लागेको छ।
तर चेल्सी जान्छन कि जादैनन् भन्ने कुरा अब आउने दिनमा चेल्सीले इन्टरमिलन लाई गर्ने प्रस्ताबमा निर्भर रहने छ।