हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिश च्याम्पियन म्यानचेष्टर सिटीले आफ्नो उच्च लयलाई निरन्तरता दिदै गएराति सम्पन्न खेलमा ब्राइटनलाई ४-१ गोल अन्तरले पराजित गरेको छ।
सिजनको पहिलो खेलमा टोटेनहम हटस्पर बिरुद्ध हार बेहोरेको म्यानचेष्टर सिटीले त्यसपछि लगातार अपराजित यात्रालाई निरन्तरता दिदै लिगमा अर्को जित निकालेको हो।
पछिल्लो आठ खेलमा ६ जीत र दुईमा बराबरी निकालेको म्यान्चेस्टर सिटी प्रिमियर लिगको तालिकामा चेल्सी(२२) भन्दा २ अङ्क कम (२०) रहदै दोस्रो स्थानमा बसेको छ।
ब्राइटनको घरेलु मैदानमा जित निकाल्ने क्रममा म्यानचेष्टर सिटीका लागि अहिलेका युवा खेलाडी मध्येका उत्कृष्ट फिल फोडेनले दुई गोल गरे भने गुण्डोगन र रियाद महारेजले एक एक गोलको योगदान दिए।
पहिलो हाफमै ३ गोल गरेको म्यानचेष्टर सिटीले दोस्रो हाफमा एक गोल थपेको थियो।
सिटीका लागि खेलमा पहिलो हाफको १३औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दा टोलीले अग्रता लिएको थियो । उनले बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए । २८औं मिनेटमा फिल फोडेनले ज्याक ग्रेलिसको पासमा गोल गर्दै व्यक्तिगत पहिलो तथा सिटीको अग्रता दोब्बर पारे।
दोस्रो गोल गरेको तिन मिनेटमै फोडेनले गाब्रियल जेससको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि सिटीले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो।
ब्राइटनका लागि दोस्रो हाफमा एलेक्सिस म्याक एलिस्टेरले पेनाल्टीमा गोल गर्दै घरेलु मैदानमा सान्त्वना गोल गरेका थिए। तर खेलको इन्ज्युरी समयमा फिल फोडेनले दिएको पासमा महारेजले गोल गर्दै सिटिलाई ४-१ को फराकिलो जित दिलाए।
२०१७/१८ को लिग सिजन देखि आफ्नो स्थान यथावत बनाएको ब्राइटन यसपाली राम्रो लयमा देखिएको छ। लिगमा ९औ चरणका खेल सकिदा सम्म ४ जित, ३ बराबरी र २ हार बेहोरेको एल्बियन तालिकाको चौथो स्थानमा रहेको छ।