हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एथ्लेटिको मड्रिडलाई उसकै घरमा हराउँदै लिभरपुलले जारि च्याम्पियन्स लिग प्रतियोगितामा आफ्नो विजयी यात्रा कायम राखेको छ।
फ्रान्सेलि खेलाडी ग्रिजम्यानले दोस्रो हाफको सुरुवातमै रातो कार्ड खाएपछि १० खेलाडीमा सीमित बन्दा एटलेटिकोले घरेलु मैदानमा ३-२ गोलको साँघुरो हार बेहोर्यो।
निकै रोमान्चक बनेको उक्त खेलमा पहिलो हाफमै दुवै टोलीले ४ गोल गर्न सफल भएका थिए।
पाहुना टोली लिभरपुलका लागि उच्च फर्ममा रहेका स्टार खेलाडी मोहम्मद सालाले खेलको ८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। डिबक्स भित्रबाट प्रहार गरेको बल डिफलेक्ट हुँदै गोलकिपर ओब्लकलाई बिट गरेको थियो।
पहिलो गोल गरेको पाँच मिनेट पछाडि एथ्लेटिको मड्रिडको रक्षाक्रम अगाडि पाएको मौकामा डी एरिया बाहिरबाट उत्कृष्ट भली शट प्रहार गर्दै नाबी केईटाले लिभरपुलको अग्रता दोब्बर बनाए।
खेलको सुरुवातमै २-० गोल अन्तरले पछाडि परेको घरेलु टोलीलाई भने स्टार खेलाडी ग्रिजम्यान ले उकासेका थिए।
एथ्लेटिको मड्रिडका लागि रातो कार्ड पाएका ग्रिजम्यानले पहिलो हाफको मध्य तिर दुई गोल गरेका थिए।
खेलको २०औं मिनेटमा कोके को पासलाई सदुपयोग गरेर गोल गर्दै ग्रिजम्यानले खेललाई २–१ को अवस्थामा ल्याए। ३४औं मिनेटमा पुनः ग्रिजम्यानले नै जोआओ फेलिक्सको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याउँदै एट्लेटिकोलाई खेलमा फर्काएका थिए।
निकै रोमान्चक बनेको उक्त खेलमा दुबै टोलीले गोल गर्ने प्रशस्त मौकाहरू पाएका थिए। गोलकिपर ओब्लक र एलिसनले दुवै टोलीबाट आकर्षक बचाव गर्दै दुवै टोलीलाई खेलमा राखेका थिए।
तर दोस्रो हाफको ५२औ मिनेटमा बल जित्ने क्रममा ग्रिजम्यानले रोबेर्टो फर्मिनोको शिरमाथि प्रहार गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए। १० खेलाडीमा सीमित बनेको घरेलु टोलीले त्यसपछि लिभरपुलको दबाब झेलेको थियो। खेलको ७६औ मिनेटमा लिभरपुलका खेलाडी डिएगो जोटालाई फल गरेपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै मोहमद सालाले लिभरपुललाई ३-२ को महत्वपुर्ण जित दिलाए।
जितपछि अपराजित रहेको लिभरपुल ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समूहमा पहिलो हार बेहोरेको एट्लेटिको ४ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ।