हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत सिजन एभरेष्ट प्रिमियर लिगमा उपविजेतामा चित्त बुझाएको भैरहवा ग्लाडीएटर यसपालिको प्रमुख दाबेदार रहेको छ।
ख्यातिप्राप्त अन्तर्राष्ट्रिय खेलाडीहरु सँगै नेपालका प्रतिभाशाली एवं उदयीमान युवा खेलाडीहरूको बाहुल्यता रहेको यसपालीको भैरहवा वास्तवमै उत्कृष्ट रहेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेसवाकर कप्तानीमा रहेको भैरहवाको टोली यसपाली हरेक क्षेत्रमा अब्बल देखिन्छ।
घरेलु प्रतियोगितामा आफूलाई सर्वोत्कृष्ट सावित गर्दै आएका युवा खेलाडी आरिफ शेख, रोहित कुमार पौडेल, अविनाश बोहोरा, कुशल मल्ल जस्ता होनहार खेलाडीहरु यसपाली भैरहवाले पाएको छ।
अन्तर्राष्ट्रिय खेलाडीहरुमा पनि निकै नाम चलेका बङ्गलादेशका तमिम इकबाल, श्रीलंकाका उपाल थारंगा र धमीका प्रसाद सँगै मलेसियाका शरविन मुनीयाण्डी रहेका छन्।
टिममा युवा जोस सँगै अन्तराष्ट्रिय खेलाडीहरूको अनुभवले यस टोलीमा नयाँ उत्साह थपेको पाइन्छ। यस अघि भएको सिजनमा ललितपुर सँग १४ रनको अब्यबहारिक हार बेहोरेको भैरहवा यसपाली त्यस्ता कुराहरूमा समझदारी गर्ने पक्षमा देखिँदैन।
समूह चरणमा ५ खेल खेल्दा ३ मा जित र २ मा हार व्यहोर्दै शीर्ष ३ मा पुगेर एलिमिनेटर खेलेको भैरहवाले चितवनलाई हराउँदै फाइनलमा ललितपुर सँग भिडेको थियो।
अघिल्लो सिजन भैरहवाका लागि सबैभन्दा बढी रन बनाएका रभि सिंह यसपाली टिममा हुने छैनन। त्यसैगरी नेदरल्याण्डका खेलाडी रायन दोस्टेक पनि यसपाली भैरहवाको जर्सीमा देखिने छैनन्।
श्रीलंकाली ब्याट्सम्यान उपल थरङ्गाले सम्भवतः भैरहवाको ओपनिङ गर्ने छन्। उनलाई बङ्गलादेशका विस्फोटक ब्याट्सम्यान तमिम ईकबालले साथ दिनेछन्। यसपाली शरद भेसवाकर सँगै मध्यक्रममा रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख जस्ता खेलाडीले भैरहवाको पारी सम्हाल्ने छन्। यसरी अन पेपर कुरा गर्दा भैरहवाको ब्याटिङ प्रतियोगितामा सबैभन्दा राम्रो देखिन्छ।
तर भर्खरै अन्तराष्ट्रिय सिरिज खेलेर आएका कुशल मल्लको फर्म ले भने भैरहवालाई पिरोल्नेछ। विश्व क्रिकेट लिगमा निकै खराब प्रदर्शन गरेका कुशल मल्ललाई यसपाली भैरहवाले स्थान दिने हो कि होइन त्यो त आगामी दिनमा हेर्न पर्ने हुन्छ।
श्रीलंकाका अर्का अन्तर्राष्ट्रिय पेस बलर धामिका प्रसाद सँगै दुर्गेश गुप्ता, कृष्ण कार्की, दिपेश श्रेष्ठले तीव्र गतिको बलिङ सम्हाल्ने छन्। नेपाली घरेलु क्रिकेटमा ख्यातिप्राप्त स्पिनर भुवन कार्कीले स्पिन सम्हाल्ने छन् भने उनलाई साथ दिन कप्तान शरद भेषवाकर रहेका छन्।
उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीहरु सँगै घरेलु युवा खेलाडीहरूको सम्मिश्रण रहेको भैरहवाको टोलीलाई १० मा ८.५ रेटिङ दिन सकिन्छ।यसपालिको एभरेष्ट प्रिमियर लिगमा सायदै कुनै टोलिले भैरहवाको टोलीलाई रोक्न सक्ने क्षमता राखेका छन् भने त्यो हो काठमाडौं किंग्स ११। बाँकीका खेलहरुमा क्षमताका हिसाबले भैरहवाले खासै ठूलो चुनौती खेप्नुपर्ने देखिँदैन।