हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेस्ट प्रिमियर लिग अन्तर्गत आज भएको दोस्रो खेलमा बिराटनगर वारियर्स विरुद्ध पोखरा राईनोज ७ विकेटले बिजयी भएको छ।
बिराटनगरले दिएको १७३ रनको लक्ष्य पोखराले १७.४ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो।
पोखराको जितमा मध्यक्रमका ब्याट्सम्यान असेला गुनारत्नेले अर्धसतकिय पारी खेले।
२४ बल खेलेका असेलाले ४ चौका र ३ छक्का प्रहार गर्दै ५० रनको उत्कृस्ट पारी खेलेका थिए।
त्यसै गरि ओपनर रिचार्ड लेभीले २६ बलमा ४ चौका र ३ छक्का हान्दै ४७ रन जोडेका थिए। रित गौतम ५ रनमा पेभेलियन फर्किदा सहन अरचिगेले ३६ बलमा ४३ रन बनाए।
४३ रन बनाउने क्रममा सहनले ४ चौका र १ छक्का प्रहार गरे। कप्तान बिनोद भण्डारीले १६ बलमा १५ रनको बिजयी पारी खेलेका थिए।
विराटनगर वारियार्सका लागि प्रतिश जिसीले ३ ओभरमा १९ रन खर्चिएर १ विकेट लिए भने सिकन्दर राजाले २ ओभरमा २० रन दिंदै १ विकेट आफ्नो नाममा गरे। हरि चौहानले ४ ओभरमा २५ रन दिँदा एक विकेट लिन सफल भए।
स्पिनर बसन्त रेग्मीले ३ ओभरमा ४१ रन दिए भने करण केसीले २.४ ओभर बलिङ गर्दै ३७ रन खर्चिदा दुवै स्ट्राइक बलर विकेट बिहिन हुन पुगे।
लगातार चौथो हार संगै बिराटनगरको शिर्ष ४ मा रहदै अघिल्लो चरणमा पुग्ने सम्भावना लगभग सकिएको छ।
जित संगै पोखरा ४ खेलमा ५ अंक सहित तालिकाको दोस्रो स्थानमा रहदै एलिमीनेटर खेल्ने सम्भावनालाई थप बलियो बनाएको छ।
४३ रन संगै २ ओभरमा केवल ४ रन दिएर १ विकेट लिएका सहन अराचिगे खेलको म्यान अफ द म्याच घोषित भए।