हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेष्ट प्रिमियर लिग अन्तर्गत आज भएको पहिलो क्वालिफायर खेलमा चितवन टाइगर्सले पोखरा राईनोज विरुद्ध फराकिलो जित हात पारेको छ।
पोखरालाई पराजित गरेसँगै चितवन यसपटकको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ।
टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको चितवनका लागि स्पिनरद्वय शबाब आलम र सागर ढकालले उत्कृष्ट बलिङ गरेपछी पोखरा ६६ रनको झिनो स्कोरमा समेटिन पुगेको थियो।
म्यान अफ दी म्याच घोषित भएका शबाव आलमले ४ ओभरमा १० रन दिएर ४ विकेट लिए।
त्यसै गरी अर्का स्पिनर सागर ढकालले ४ ओभरमा १४ रन दिएर ४ विकेट लिन सफल भए।
चितवनका स्पिनरले कुल ८ ओभरमा २४ रन दिएर ८ विकेट लिएपछि पोखरा १५ ओभरमा केवल ६६ रन बनाउँदा अल आउट भएको थियो।
पोखराका लागि रिचर्ड लेभीले सर्बाधिक १२ बलमा १९ रन बनाए भने उनलाई साथ दिँदै अर्का ओपनर सुनिल धमलाले १८ रन जोडे। त्यसपछि माथिल्लो र मध्यक्रमका ब्याट्सम्यान सस्तैमा आउट हुन पुगेपछि पोखराले इनिङ सम्हाल्न सकेन।
केवल ६६ रनको विजयी लक्ष्य पछ्याएको चितवनले ७.५ ओभरमा जित हासिल गरेको थियो।
चितवनको जितमा अफगानिस्तानका खेलाडी मोहमद शेजादले २६ बलमा ४८ रनको आक्रमक पारी खेलेका थिए। उनले ७ चौका र २ छक्का प्रहार गरे।
त्यस्तै हसिम अन्सारीले नट आउट १४ रन जोड्दा करिम जन्नतले नट आउट ४ रन बनाए।
खेल हारेपनि पोखरालाई पुनः फाइनलमा प्रवेश गर्ने अर्को एउटा मौका रहेको छ।
पोखराले फाईनलका लागि दोस्रो क्वालिफायर खेल्ने छ। आजै हुन गइरहेको भैरहवा र काठमाडौं बीचको विजयी टोली सँग भोलि पोखराले अर्को क्वालिफायर खेल्नु पर्ने रहेको छ।