हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा ओमानसँग नमीठो हार व्यहोरेपछि नेपालको ब्याटिङ्ग बारेमा फेरि एकपटक बहस हुन थालेको छ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाएर १९६ रन बनाएको थियो।
बिजयी लक्ष्य ओमानले केवल ३१.१ ओवरमा पाँच विकेटको क्षतिमा पुरा गर्दै नेपाल बिरुद्ध शानदार जित दर्ता गरेको थियो।
ओमानका लागि ओपनर जतिंदर सिंहले ६२ बलमा १२ चौका र ६ छक्का गर्दै १०७ रनको विस्फोटक पारि खेलेका थिए।
नेपालको हारमा ब्याटिङ्ग देखि लिएर खेलमा गरिएका निर्णयहरुको माथि पनि प्रश्न उठाउने थुप्रै ठाउँहरु छन्।
छैठौं विकेटको लागि सोमपाल कामीलाई पिन्च हीटरका रूपमा अगाडि ल्याउनु, टिममा रहेका सिनियर खेलाडीले भरपर्दो इनिङ खेल्न नसक्नु, फर्ममा नरहेका कुशल मलाई मौका दिईराख्नु जस्ता थुप्रै निर्णय अहिले उच्चविन्दुमा रहेका छन्।
हिजोको खेलमा ओपनर आशिफ शेख बाहेक नेपालका तर्फबाट अन्य ब्याट्सम्यानहरूको प्रदर्शन निकै फितलो देखिन्थ्यो। अमेरिकाविरुद्ध पनि नेपालको मध्य क्रमलाई युवा खेलाडी रोहित पौड्यालले सम्हालेका थिए।
अमेरिका विरुद्ध म्यान अफ दी म्याच कुशल भुर्तेल र विकेट किपर ब्याट्सम्यान विनोद भण्डारीले आफ्ना विकेट निकै सस्तोमा खेर फ्यालेका थिए। मध्यक्रमका ब्याटस्म्यानहरुले खेलमा दबाब सिर्जना हुदाँ उचित निर्णय लिन नसक्नु ओमन बिरूद्ध नेपालको हारको मुख्य कारण बन्न पुग्यो।
ज्ञानेन्द्र मल्ल र आशिफ सेख बीच को ५८ रनको साझेदारीनै नेपालको सबैभन्दा ठूलो साझेदारी रहेको थियो।कप्तान ज्ञानेन्द्र मल्ल पछि आएका रोहित पौडेलले शेख सँग नै मिलेर अर्को ४२ रनको साझेदारी गर्दा नेपाली टोलीले एक समय २५० रनको आँकडा छुने देखिन्थ्यो।
तर मध्यक्रमका ब्याट्सम्यानहरु एकपछि अर्को गर्दै आउट हुन थालेपछि नेपालको पारी १९६ रनमा समाप्त हुन पुगेको थियो।
बलिंग तर्फा हुनत ओमानको गर्मीले नेपालका स्टार स्पिनर सन्दिप लामिछाने बिरामी भएपछि उनको अभाव नेपाली टोलीमा राम्रै सँग खड्किएको थियो।
नेपालका पेस बलरहरुको प्रदर्शन हिजो भने बिर्सनलायक रह्यो। सोम्पाल कामिले ४ ओभरमा ३८ रन दिदा राम्रो प्रदर्शन गरिरहेका बिक्रम सोब पनि महँगो साबित हुन पुगे। २.१ ओभर मा उनले २९ रङ खर्चिएका थिए। करण केसीले ५ ओभरमा ५२ रन दिदा २ विकेट भने लिन सफल भए।
नेपालका तीव्र गतिका बलरहरु सामु निकै सहज रुपमा प्रस्तुत भएका ओमनका ब्याट्सम्यानहरु स्पिनर विरुद्ध भने संघर्ष गरिरहेका थिए। यस्तोमा सन्दीप बाट टोलीले राम्रो आश गर्न सक्थ्यो तर दुर्भाग्यवश खेलको बीचमै उनले मैदान छोडेर हिड्नु परेको थियो।
यसअघि नेपालमै भएको ओमान विरुद्धको शृंखलामा पनि नेपालले निकै खराब ब्याटिङ प्रस्तुत गरेको थियो। दुई खेल खेलेको नेपालले ओमान विरुद्ध दुबै खेल ब्याटिङ्ग कै कारणले गुमाउन पुगेको थियो।
अहिलेको भ्रमण टोलीमा रहेका कुशल मल्लले पीएनजी देखि हिजो ओमानको खेल सम्म ब्याटिङमा कुनै कमाल देखाउन सकिरहेका छैनन्। यस्तोमा कुशल मल्लको खराब ब्याटिङ्गले मध्यक्रमका ब्याटिङमा केही दबाब अबस्य महसुस गरेको छ।
हारसँगै नेपाल विश्व क्रिकेट लिगको तालिका को छैठौं स्थानमा यथावत् रहेको छ। ६ खेल खेलेको नेपालले तीन खेलमा जित र तीन खेलमा हार बेहोर्दै ६ अङ्क बटुलेको छ। ओमान भने ११ खेलमा ९ जित र दुई हार गरेर १८ अङ्क बोक्दै तालिकाको पहिलो स्थानमा बसेको छ।
अमेरिका र ओमान विरुद्ध अब एक एक खेल बाँकी रहँदा परम्परागत ब्याटिङ्ग शैलीले एकपटक पुनः नेपाललाई पछाडि धकेल्ने हो कि भन्ने शंका उपशंका जनमानसमा उत्पन्न भएको पाइन्छ।