हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपाल र ओमानबीचको पहिलो इनिङको खेल समाप्त भएको छ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ओमान सामु १९७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
आशिफ शेख बाहेक अन्य ब्याट्सम्यानहरुले फितलो प्रदर्शन गर्दा नेपाल एक पटक पुनः २०० रन भन्दा कममा समेटिन पुग्यो।
शेखले ११२ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ९० रनको आकर्षक पारी खेलेका थिए।
अघिल्लो खेलमा म्यान अफ दि म्याच घोषित भएका कुशल भुर्तेल भने डक आउट हुन पुगे।
कप्तान ज्ञानेन्द्र मल्लले ३३ बलमा २१ रन जोड्दा अर्का युवा खेलाडी रोहित पौडेलले यसपाली केवल २० रन जोडे। कुशल मल्लले एकपटक पुनः फितलो ब्याटिङ गर्दै व्यक्तिगत चार रनमा आफ्नो विकेट खेर फ्यालेका थिए।
मध्यक्रमका अनुभवी व्याट्सम्यान विनोद भण्डारी फेरि विफल भएका छन्। यसअघिको अमेरिका विरुद्धको खेलमा मध्यक्रमका इनिङ सम्हाले पनि आज भने उनी सस्तैमा आउट हुन पुगे। विनोदले १३ बल खेल्दै केवल ६ रन जोडे।
तल्लो क्रममा करण केसीले ४८ बलमा २१ रन जोड्दा नेपालले १९० रनको आँकडा छुन पुगेको थियो। करणलाई साथ दिँदै स्पिनर सन्दीप लामिछानेले १० बलमा १६ रन बनाउँदै रन आउट हुन पुगे।
नेपाललाई १९६ रन मै समेट्ने क्रममा ओमानका बायाँ हाते मध्य गतिका बलर बिलाल खानले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। त्यस्तै नेस्टर धम्बाले ५ ओभरमा २५ रन दिँदै २ विकेट चटकाए।
जिशन मक्सुदले ३२ रन दिँदै १ विकेट लिए भने मोहम्मद नदिमले ७ ओभर बलिङ गर्दै २६ रन दिएर १ विकेट आफ्नो नाममा गरेका थिए।