हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लगातार खराब प्रदर्शन जारी रहेपछि अन्तत म्यानचेस्टर युनाइटेडले प्रशिक्षक ओले गनर सोल्सायरलाई भने बर्खास्त गरेको छ।
इंग्लिस प्रिमियर लिगमा शनिबार बेलुकी म्यानचेस्टर युनाइटेडले वाटफर्ड विरुद्ध पुनः एकपटक निकै तल्लोस्तर को खेल प्रदर्शन गरेको थियो।
लिगमा १२ औं चरणको खेल खेलेको म्यानचेस्टर युनाइटेड वाटफोर्ड को घरेलु मैदानमा ४-१ को लज्जास्पद हार ब्यहोरेको थियो।
लिभरपुल विरुद्ध ५-० को हार बेहोरेको रेड्स टोली म्यान सिटी विरुद्ध पनि निकै कमजोर साबित हुँदै उस्तै लज्जास्पद हार बेहोरेको थियो।
आइतबार दिउँसो क्लवले आफ्नो वेबसाइटमार्फत आधिकारिक जानकारी जनाउँदै प्रशिक्षक ओलेलाई बिदाई गरेको घोषणा गरेको थियो।
तर म्यानचेष्टर युनाइटेडले अहिलेको स्थितिमा पुग्नलाई प्रशिक्षक मात्र जिम्मेवारी भने रहेका छैनन्। म्यान्चेस्टर युनाइटेड भित्रको आन्तरिक द्वन्द, ब्रण्डिङ मोह, समर्थक र बोर्डका मालिकहरू बिचको कलह थुप्रै कारणहरु छन् युनाईटेड एकाएक पतन हुनुमा।
एउटा उत्कृष्ट क्लब भएको नाताले जुन किसिमको चुस्त व्यवस्थापन, निर्णय गर्ने क्षमता, दुरदर्शिता, समर्थक र क्लबबीचको साझेदारी जस्ता हरेक कुरामा म्यानचेष्टर युनाइटेड निकैपछि रहेको छ। राम्रै सँग भन्नु पर्दा युनाइटेडको व्यवस्थापन च्याम्पियसिप दर्जाको क्लब भन्दा खत्तम भईसकेको छ।
झट्ट हेर्दा निकै आकर्षक देखिएपनि भित्र भने म्यानचेष्टर युनाइटेडले खोक्रो भइसकेको छ। अझ तिखो भएर भन्नु पर्दा एलेक्स फरगुसनको पालामा पाएको सफलताको छायाँमा म्यानचेस्टर युनाइटेड अझैपनि जिउँदो रहेको छ।
सर एलेक्सले झण्डै ३ दशक क्लबमा रहँदा जुन मान्यता मूल्य र संस्कार विकसित गरे, अहिले सम्पूर्ण कोणबाट एकपछि अर्को गर्दै तहसनहस भइरहेको छ। आँफुले क्लब व्यवस्थापनबाट अवकाश लिँदा जो मलाई देखाए जस्तै नयाँ व्यवस्थापक लाई धैर्यता देखाउनु भनेर अर्ती दिएका थिए, बोर्डले अहिले सम्म ८ वर्षको अवधिमा ४ प्रशिक्षक फेरिसकेको छ।
लिग उपाधि होड बाट परै राखौं क्लबलाई शीर्ष चारभित्र पर्न पनि निकै हम्मेहम्मे हुने गरेको छ। ट्रान्सफरमा पैसा खन्याए पनि प्रशिक्षकले भने अनुसारको खेलाडी ल्याउन नसक्नु, कहाँ कहाँ कमजोरी छ अनि कस्ता खेलाडी ल्याउनु पर्ने एउटै भेउ पाउन नसक्नु, अहिले सम्म आधुनिक फुटबलमा अति आवश्यक टेक्निकल डाईरेक्टर नियुक्ति गर्न नसक्नु बोर्डको ठूलो निकम्मापन रहेको छ।
यदि म्यानचेष्टर युनाइटेड माथिल्लो स्तरबाटै नसुध्रिने हो भने आगामी केही वर्ष सम्म समर्थकहरुले यस्तै खराब दिनहरु बाट गुज्रने अवस्था नआउला भन्न सकिंदैन। युनाईटेड आफ्नै कारणले अहिले एकपछि अर्को असफलताको मिठो शिकार भइरहेको छ।