हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबलमा निकै चर्चित तथा उदयीमान युवा खेलाडीका रुपमा परिचित एरलिंग हालान्डले सिटिसंग सम्झौता गरेका छन्।
अग्ला, गतिशील, शारीरिकरुपमा अब्बल र गोल गर्ने क्षमतामा निकै प्रखररहेका एरलिंगको आगमनमा सारा विश्व फुटबल जगतले चासो देखाएको छ।
पूर्व बार्सिलोना तथा स्पेनी प्रशिक्षक ग्वारडीओलाको आगमनसँगै घरेलु फुटबलमा लगातार इतिहास रचिरहेको सिटीका लागि यो अनुबन्ध निकै महत्वपूर्ण मानिएको छ।
पछिल्ला पाँच सिजनमा चारपटक इंग्लिस च्याम्पीयन वनिसकेको म्यानचेष्टर सिटीले, युरोपियन फुटबलमा तीनपटक सेमिफाइनलको यात्रा तय गर्दा एकपटकमात्र फाइनल खेलेको छ।
गएको सिजन चेल्सीविरुद्ध फाइनलमा पराजित हुँदै म्यानचेस्टर सिटीले आफ्नो पहिलो युरोपियन ट्रफि जित्ने सम्भावनालाई टुक्र्याएको थियो।
अर्जेन्टिनी स्ट्राइकर तथा क्लवका दिग्गज खेलाडी सर्जियो अग्युरोले क्लब छाडेसँगै म्यानचेस्टर सिटीमा हाल विश्वस्तरीय फरवार्डको कमी रहेको छ।
रहिम स्टरलिंग, फोडेन, ग्रिलिस, ग्याब्रियल जिसस जस्ता प्रतिभाशाली युवा खेलाडीहरूको बाहुल्यता भएको सिटीमा, परम्परागतरुपका पोचर फरवार्ड छैनन्।
लो ब्लक तथा मैदानमा स्पेस नदिने बिपक्षी विरुद्ध सिटिले प्रायः संघर्ष गर्ने गरेको छ। अझ युरोपेली फुटबलमा सिटिलाई यो समस्याले निकै सताएको छ।
यस्तो अवस्थामा एरलिंग निकै प्रभाबशाली बन्न सक्छन। उनिसंग एक सेन्टर फरवार्डसंग हुनु पर्ने हरेक गुण रहेको छ।
केवल २१ वर्षको उमेरमा शिर्ष डिभिजन फुटबल खेल्दै, १५० भन्दा बढी गोल गरिसकेका हालान्ड, अहिलेको युवा पुस्ता माझ निकै लोकप्रिय खेलाडी हुन्।
क्लासिक नम्बर ९ को गुण रहेका यी युवा खेलाडीबाट सिटिले फाइनल थर्डमा जस्तोसुकै अवस्थामा पनि गोल निकाल्ने क्षमता राख्दछन्।
पछिल्ला तिन सिजनमा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट ८८ खेल खेल्दै ८५ गोल गरिसकेका एरलिंग, एरियल बलमा पनि उत्तिकै सटिक रहेका छन्।
उनले आँफुले खेलेका अरु क्लबहरुमा प्रायः एक्लो सेन्टर फरवार्डको रुपमा खेल्ने गरेका छन्।
४-३-३ ,४-३-२-१ जस्ता फर्मेसनमा अब्बल भइसकेका एरलिंगले पेप ग्वारडीओलाको जस्तो अत्यधिक पोसेसन आधारित सिस्टममा भने खेलेका छैनन्।
तर प्रशिक्षक पेपले भने उनलाई उक्त शैलीमा खेल्नका लागि आफूहरुले मद्दत गर्ने र उनको क्षमताले उनी चाँडैनै माथिल्लो तहमा पुग्ने बताईसकेका छन्।