हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपालका स्टार बलिंग अलराउन्डर करण केसी आफ्नो प्रदर्शनका कारण निकै चर्चामा आउने गरेका छन।
हालैको समयमा नेपाललाई चाहिएको बेला सबैभन्दा बढी प्रभाब पार्न सक्ने खेलाडी करण नै हुन भन्दा दुईमत छैन।
नेदरल्याण्ड विरुद्धको जितमा होस या पीएनजी विरुद्धको ह्याट्रिकमा होस उनको प्रदर्शनको चर्चा यतिबेला चुलिएको छ।
त्रिवि मैदानमा जारी त्रिदेशीय शृंखलामा बिहीबार पपुवा न्युगिनीविरुद्ध विकेट लिएपछि उनको ५० विकेट पूरा भएको छ।
उनले यो उपलब्धि ३६ औँ खेलमा प्राप्त गरेका हुन्। खेलको अन्तिम ओभरमा ह्याट्रिक लिएका उनले पाँच विकेट समेत आफ्नो नाममा गरे।
करण ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ह्याट्रिक विकेट लिने विश्वका २८ औं खेलाडी बनेका छन्। ह्याट्रिक बनाउने क्रममा उनले खेलको अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार उनले चाड सुपर (२), सिमोन अटाई (०) र नोसाइना पोकाना (०) लाई आउट गरे।
करणले ट्वान्टी–२० अन्तर्राष्ट्रियको एकै खेलमा ५ विकेट लिने पहिलो बलरको कीर्तिमान पनि आफ्नै नाममा लेखाए।
वसन्त रेग्मीले सन् २०१५ को विश्वकप छनोटमा उत्तरी आयरल्यान्डमा हङकङसँग १६ रन खर्चेर ४ विकेट लिनु यसअघि नेपाली बलरको उत्कृष्ट प्रदर्शन थियो।
अन्तरास्ट्रिय टि ट्वान्टीमा ह्याट्रिक सहित पाँच विकेट भने भारतका दिपक चाहर, न्युजिल्यान्डका टिम साउथी, श्रीलंकाका लासिथ मलिंगा, अफगानिस्तानका रशिद खान जस्ता बलरहरुले लिएका छन् जसमा अब करण केसी पनि अटाएका छन्।
म्यान अफ दि म्याच पनि बनेका करणले खेलपछि बोल्दै आफ्नो सफलताको भाव साटेका थिए।
केसीले भने, “मेरो करियरको उत्कृष्ट बलिङ फिगर बनाउन पाउँदा म उत्साहित छु र यो मेरो लागि धेरै विशेष छ। म आगामी खेलहरूमा पनि यो उपलब्धि दोहोर्याउने प्रयास गर्नेछु,” केसीले भने।
“हामीले विगत चार-पाँच वर्षदेखि धेरै टि ट्वान्टी खेल खेल्दै आएका छौं र घरेलु संरचनामा पनि खेलको प्रभुत्व रहेको छ। खेल्ने मुड टि ट्वान्टीमा परिवर्तन हुन्छ। अन्तर्राष्ट्रिय एक्सपोजर वास्तवमै उपयोगी थियो।”