हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टोलीको विवाद समाधानका लागि गठन गरिएको छानबिन आयोगले प्रशिक्षक अल्मुताइरिलाई हटाउन सिफारिस गरेको छ।
झन्डै एक महिना अघि सुरु भएको नेपाली फुटबलको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघले ३ सदस्य छानबिन टोली गठन गरेको थियो।
छानविन समितिले प्रशिक्षक आफै अस्वस्थ रहेको र कतार फुटबल संघसँग समन्वय गरेर परिवर्तन गरिनुपर्ने निष्कर्षसहित एन्फालाई आफ्नो प्रतिवेदन बुझाएको बाहिरिएको छ।
कतार फुटबल संघले आफैँले खर्च व्यहोर्दै प्रशिक्षक अब्दुल्लालाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकका रूपमा पठाएको थियो।
समितिले प्रशिक्षक अब्दुल्लाले राष्ट्रिय खेलाडीहरूको निजी जीवनमा अस्वभाविक हस्तक्षेप गरेको पनि बताएको छ।
यससँगै समितिले राष्ट्रिय टोलीका व्यवस्थापकले पनि विवादको समयमा उचित व्यवस्थापन गर्न नसकेको भन्दै व्यवस्थापक परिवर्तनका लागि पनि आवश्यक कदम चाल्नुपर्ने बताएको छ।
गतबर्षको दक्षिण एसियाली फुटबल च्याम्पियनसिपमा नेपाललाई उपविजेता बनाए पश्चात उनको चर्चा नेपाली फुटबल दर्शक र समर्थक माझ चुलिएको छ।
आउँदो एसियन कप छनौट प्रतियोगिताको लागि बन्द प्रशिक्षण क्याम्पमा रहेका खेलाडीहरुले प्रशिक्षकको कार्यशैलीप्रति आपत्ति जनाउँदै प्रशिक्षण छाडेका थिए।
खेलाडीहरुले आफूले बस्नु पाउनुपर्ने र राम्रो खान पाउनुपर्ने माग राख्दै प्रशिक्षक संग प्रस्ताव राखेपछि विवाद शुरु भएको खेलाडीहरूको भनाइ छ।
एन्फाको गत आइतबार बसेको कार्यसमिति बैठकले भिक्टर रानाको संयोजकत्वमा विदुर विष्ट र दीपक थापा सम्मिलित समितिलाई यस घटनाको तथ्य खोज्न जिम्मेवारी दिएको थियो।
घटनाको छानविनका लागि अखिल नेपाल फुटबल सङ्घको छानबिन समितिले प्रशिक्षक सँग असन्तुष्टि जनाएका १० खेलाडीसँगै राष्ट्रिय टोलीका वर्तमान प्रशिक्षक अल्मुताईरी सँग बयान लिएको थियो।
विवाद बाहिर मिडियामा आए लगत्तै नेपाली राष्ट्रिय फुटबल टोलीका १० खेलाडीले र प्रशिक्षक अब्दुल्ला दुवैले आ-आफ्नो तर्फबाट अखिल नेपाल फुटबल संघलाई घटनाबारे पत्र पठाएका थिए।
विवाद उत्कर्षमा पुगेपछि राष्ट्रिय फुटबल टोलीका १० खेलाडीले प्रशिक्षण छाडेका थिए।