हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| डिफेन्डिंग च्याम्प्पियन बार्सिलोना, स्पेनको प्रतिष्ठित कप कोपा डेलरे बाट बाहिरिदा, चिर प्रतिद्वन्दी रियल मड्रिड भने उत्कृस्ट पुनरागमन गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ
एथलेटिको बिल्वाओको घरेलु मैदानमा अतिरिक्त समयमा ३–२ गोल अन्तरले पराजित हुँदै बार्सिलोनाले आफ्नो कप यात्रा टुंग्याएको हो।
सान मामेस बारिया बिल्वाओमा बिहीबार राति भएको खेलमा बिल्वाओको लागि इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे। बार्सिलोनाका फेरान टोरेस र पेड्रीले गोल गरेका थिए।
खेलको दोस्रो मिनेटमा नै इकर मुनिएनको गोलबाट घरेलु टोली बिल्वाओले १–० को अग्रता लिन सफल भएको थियो।
बार्सिलोनाका लागि २०औं मिनेटमा फेरान टोरेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए।
८६औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्वाओलाई २-१ को स्थितिमा पुर्याएका थिए। इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा पेड्रीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। निर्धारित ९० मिनेट र इन्जुरी समयमा खेल २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
त्यसपछि अतिरिक्त समयमा लम्बिएको खेलको १०५औं मिनेटमा इकर मुनिएनले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई स्तब्ध पारे।
अर्कोतिर, खेलमा १० खेलाडीमा सीमित र १-० ले पछि परेको स्थितिलाई उल्ट्याउदै स्पेनिश महारथी रियल मड्रिडले कोपा डेलरे मा आआफ्नो यात्रालाई निरन्तरता दिएको छ।
निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
रियलले घरेलु टोली इल्चेमाथि अतिरिक्त समयमा २–१ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।
१०२औं मिनेटमा कप्तान मार्सेलो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिदा रियल १० खेलाडीमा सीमित बनेको थियो। लगत्तै १०३औं मिनेटमा गोन्जालो भेर्डुले गोल गर्दै घरेलु टोलि एल्केलाई अग्रता दिलाएका थिए।
रियलको जितमा बेन्चबाट आएका इस्कोले १०८औ मिनेट र हाजार्डले ११५औ मिनेटमा गोल गर्दै रियल मड्रिडलाई जित दिलाएका थिए।