हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आगामी वर्ष अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकप प्रतियोगितामा छनौट हुनका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको दुई महिनापछि ग्लोबल छनौट खेल्नुपर्ने अवस्था रहेको छ।
सन् २०१४ मा बिश्वकपमा छनौट भएर सनसनी मचाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्यसपश्चात भने उक्त उपलब्धी अहिलेसम्म हात पार्न सकेको छैन।
नेपालले सन् २०१४ को विश्वकप खेलिसकेको पछि पनि विश्वकपको दुईवटा संस्करण भइसकेका छन्।
नेपालले भने छनौट चरणमै मात्र आफ्नो उपस्थिति जनाउन सकेको छ।
एसोसियट राष्ट्रहरुमा बलियो सावित भएको नेपाल लगातार विश्वकपमा छनौट नहुनुले घरेलु क्रिकेट समर्थकहरुमा निराशा छाइरहेको छ।
असफलतालाई ठेलेर पुनः गौरबशाली बन्नुपर्ने बेलामा नेपाली क्रिकेटलाई ‘बिचरा’ भन्ने दिन आइसकेका छन्।
एकातर्फ ठुला प्रतियोगिताहरुमा आफ्नो उपस्थिति जनाउन नसक्नु तथा अर्कातर्फ घरेलु क्रिकेट बोर्ड र खेलाडीहरुको बिचको आन्तरिक किचलोले नेपालको क्रिकेटको भविस्य अहिले लथालिङ्ग अवस्थामा पुगेको छ।
ठूलो प्रतियोगिता आउन करिब दुई महिना मात्र बाँकी रहेको अवस्थामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बन्द प्रशिक्षण सुरु गर्नुपर्ने तयारी त कता हो कता छनौट भएका प्रशिक्षकलाई समेत बोलाउन सकेको छैन।
खेलाडी वर्गीकरणमा समस्या भएका कारण चित्त नबुझाएका राष्ट्रिय टोलीका ४ खेलाडीले अनुशासनका कारण निलम्बन सहित आफ्नो कप्तानी पद समेत गुमाएका छन्।
साथै नेपाल क्रिकेट संघले उनीहरुलाई आगामी ६ महिनासम्म आफ्नो सम्झौतामा नराख्ने स्पष्टीकरण दिइसकेको छ।
नेपाल क्रिकेट संघले यसै साता पोखरामा बन्द प्रशिक्षण सुरु हुने भनेतापनि अब नहुने कुरा बाहिर आइसकेको छ।
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासले क्रिकेट सङ्घ र खेलाडीहरुको विचको समस्या समाधानका बारेमा बोल्दै केही महत्वपूर्ण जानकारीहरु दिएका छन्।
प्रशिक्षक नेपाल आउने विषयमा विनोदले, ‘बन्द प्रशिक्षणबारे प्रशिक्षकसँग छलफल भएको छ । वहाँले म आउन सम्म रोकौं भन्ने कुरा भएको छ । खेलाडीहरुबाट पनि केहि कुराहरु आएको छ । सायद दुई देखि चारदिनपछि धकेलिन सक्छ ।’ बताए।
‘पछिल्लो विवाद बारे एकपटक बसेर छलफल गर्दा राम्रो हुन्छ । पछि क्याम्प बोलाएर प्रशिक्षक पनि नआएको अवस्थामा झन् लथालिङ्ग होला कि भन्ने डर छ’, उनले भने।
खेलाडीलाई कारबाही विषय अव के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘त्यो बोर्डको निर्णय हो । त्यो विषयमा हामी छलफल चाँडै गर्नेछौं । सबै सकरात्मक हुनहुन्छ ।’
‘सम्झौतामा राखेका खेलाडी सोझै बन्द प्रशिक्षणमा पर्छन् । त्यसपछि नयाँ खेलाडी खोज्ने हो। हामीसँग टि२० मात्र छैन, त्यो लगत्तै आइसिसी विश्वकप लिग २ को खेल पनि छ । टि२० र ओडिआई दुवै खेल भएको हुँदा हामीले प्रशिक्षकसँग पनि समन्वय गरेका छौं।”
त्यसैमा उनले थपे, ‘प्रशिक्षकले एउटा सुझाव दिनु भएको छ । त्यसमा पनि हामीले छलफल गरिरहेका छौं । एकदिवसिय र टि२० राष्ट्रिय प्रतियोगिता गर्ने गरि काम गरिरहेका छौं’, दासले भने।
यसरि लगातार रुपमा क्रिकेटको चुलिदो समस्याले नेपाली क्रिकेटको वर्तमान भविष्य त अध्यारोमा धेकेलिएकै छ, भविष्यमा क्रिकेट र क्रिकेटको गौरबमाय उपलब्धि एक ईतिहासको पात्रको रुपमा सीमित भएर नबस्ला भन्न सकिँदैन।