हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ‘बलिंग त राम्रो गरेको, ब्याटिंगले फेरी हरायो’ आजकल आम क्रिकेट प्रेमी नेपालीको जिब्रोमै झुन्डेको वाक्य हो यो।
प्रदर्शन पनि त्यस्तै देखाउने भएकाले नभन्न पनि सकिँदैन।
आफूभन्दा साना टोलीलाई राम धुलाई हान्ने नेपाली ब्याट्सम्यानहरु आफु सँगैका अथवा आफूभन्दा अलिकति माथिल्लो स्तरका टोली विरुद्ध भने खेल्नै सक्दैनन्।
आफुभन्दा तल्लो तहका टोलीलाई जित्दा फुरुक्क पर्ने हामी दर्शक, आफु सरहको कुनै टोली पर्यो भने ब्याटिंग राम्रो होस् भनेर ४ दिन अघि देखिनै कामना गर्न थाल्छौ अवस्था त्यस्तो बनिसकेको छ।
बलिंगले जेनतेन धानेको नेपाली क्रिकेट पछिल्लो समयमा भने यति खस्किसकेको छ हामीले पत्तै पाउन सकिरहेका छैनौं।
हामीसँगै क्रिकेट खेलेर हुर्किएका हामी सँगैका देशहरू संरचनात्मक हिसाबमा यती अगाडी पुगिसकेका छन् कि, अबको केही वर्ष पछि नेपालले उनीहरूको खेल टेलिभिजनमा बसेर टुलुटुलु हेर्ने भन्दा अरु गर्न सकिँदैन।
नेपाली क्रिकेटको संरचना र व्यवसायिक हिसाब दुबै यति अस्तव्यस्त बनिसकेको छ जुन बर्णन गर्न निकै गाह्रो छ।
खेलाडीले सधै खेलेनन् भनेर गुनासो गर्ने हामी नेपालीले, खेलाडीले किन खेल्न सकेनन् भनेर विचार गरेकै छैनौ।
वर्षमा एकपटक घरेलु प्रतियोगिता गराएर त्यो पनि सिमित ओभरको, राष्ट्रिय क्रिकेट टोलीमा खेलाडीहरु छानिन्छन्।
व्यवस्थापन गरेर राम्रो तरिकाले प्रतियोगिता गरेपनि अलिकति राम्रा खेलाडीहरु माथि आउने सम्भावना धेरै रहेको छ तर नेपालमा भने त्यसको ठ्याक्क उल्टो गरेको छ।
मरिहत्ते गरेर एउटा प्रतियोगिता सुरु गराइन्छ त्यसको पनि व्यवस्थापन राम्रो हुँदैन खेलाडी कहा बस्ने, कस्तो खेल्ने कहाँ अभ्यास गर्ने केही कुराको टुंगो हुदैन।
एकदिवसीय प्रतियोगिताका लागि राष्ट्रिय खेलाडीको छनोटमा टालटुले प्रतियोगिता गरिन्छ।
प्रतियोगितानै गराई हालियो भनेपनि एउटा टोलीले ४-५ ओटा खेल भन्दाबढी खेल्न पाउँदैनन् र त्यसकै आधारमा खेलाडी राष्ट्रिय टोलीमा खेलाडी छनौट गर्नुपर्ने।
प्रतियोगिता पनि काठमाडौ भन्दा अन्य ठाउँमा गर्न साहै गारो छ। बाहिरी जिल्लामा पनि क्रिकेट मैदान नभएका त होइनन् तर प्रतियोगिता नै हुँदैन नेपालमा।
एउटा घरेलु खेलाडीले एक वर्षमा सिमित ओभरका ३ देखि ४ वटा प्रतियोगिता खेल्न पाउछ त्यो पनि मुश्किलले।
१२ महिनामा ८ महिना क्रिकेटमा ब्यस्त हुनुपर्ने ठाउँमा राष्ट्रिय स्तरका हुन या स्थानीय खेलाडी, दुवैले ४ महिना भन्दा बढी क्रिकेट नेपालमा खेल्दैनन। अनि कसरि राम्रो आश गर्ने सधैं?
क्रिकेटको चौतर्फी विकासका लागि नेपालको हरेक ठाउँबाट हरेक जिल्लाबाट खेलाडी ल्याउन निकै आवश्यक रहेको छ।
सिमित ओभरका खेलले कुनैपनि खेलाडीको दक्षता बढ्दैन भन्ने थाहा पाउँदापाउँदै पनि घरेलु क्रिकेटको संरचनामा रातो बलको प्रयोग नहुनु हास्यास्पद रहेको छ, त्यो पनि नेपालको स्तरको राष्ट्रले।
उमेर समूहदेखि नै असिमित ओभरका क्रिकेट खेल्नु पर्ने,खेलाडीका विकासका लागि क्याम्पहरु राखिनु पर्ने, बिदेशी क्रिकेट बोर्डहरु सँग समन्वय गरेर आफ्ना घरेलु उत्पादनहरुलाई बिदेशी वातावरणमा एक्सपोजर दिनुपर्ने यी सब कामहरु अहिलेको आधुनिक क्रिकेटमा आधारभुत रहेका छन्।
नेपाल क्रिकेट संघलाई आइसीसीले वार्षिक रुपमा बजेट पठाउने गरेको छ।
तर सधैं बजेट नै पुग्दैन, नेपालसँग पैसा नै छैन भनेर नेपाल क्रिकेट संघले बारम्बार यस्ता प्रतियोगिताबाट र कार्यक्रमबाट हात झिक्ने गरेको छ।
अन्तर्राष्ट्रिय सिरिजमा पनि आफूभन्दा माथिल्लो तहका राष्ट्रहरुसँग समन्वय नगर्ने, सधैं आफूभन्दा तल्लो स्तरका राष्ट्रहरू ल्याएर घरेलु मैदानमा क्रिकेट खेलाउने, २ दशक पुरानो क्रिकेटको संरचनालाई फेरबदल नगर्ने यी त बाहिर देखिएका समस्या मात्र हुन्।
नेपाली क्रिकेटको विकासका लागि नेपाल क्रिकेट सङ्घको भूमिका जस्तो हुनुपर्ने हो यसको एकरति पनि देखिँदैन।
यस्तै तालमा सधै व्यवस्थापन हिनताबाट मात्रै गुज्रिने हो भने, नेपाल क्रिकेट संघलाई पनि हटाईदिए हुन्छ।