हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| शनिबार राति प्रिमियर लिगमा नर्भिच सिटी विरुद्ध ह्याट्रिक गर्दै रोनाल्डोले आफ्नो स्वर्णिम यात्रालाई निरन्तरता दिएका छन्।
घरेलु मैदानमा भएको खेलमा रोमाञ्चक जित दिलाउन क्रिस्टियानो रोनाल्डोको भूमिका मुख्य रह्यो।
यस सिजन आफ्नो टोलीका लागि पनि शीर्ष गोलकर्ता बनेका रोनाल्डोले, ३ गोलसँगै यस सिजन प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने सूचीमा तेस्रो स्थानमा आएका छन्।
त्यो भन्दा महत्वपूर्ण कुरा भने फुटबल जगतमा उनको कद यति उँचो भइसकेको छ की, उनले हरेक पटक गोल गर्दा नयाँ कीर्तिमान बनाउने गरेका छन्।
खेल जीवनको उत्तरार्धमा आएर पनि यसरी लगातार गोल गरिरहनु कुनैपनि शीर्ष खेलाडीका लागि निकै चुनौतीपूर्ण हुने गरेको छ।
३७ औ बसन्त पार गरिसकेका रोनाल्डोले जारी सिजनमा सबै प्रतियोगितामा २१ गोल गरिसकेका छन् भने अझै ६ खेल खेल्न बाँकी रहेको छ।
क्रिस्टियानो रोनाल्डोले शनिबार म्यानचेस्टर युनाइटेडका लागि हाफ टाइम अघि दुई पटक गोल गर्दा एक सिजनमा कम्तिमा २० क्लब गोल गर्ने किर्तिमानलाई विस्तार गरेका छन्।
पोर्चुगिज सुपरस्टारले नर्विच सिटीविरुद्धको खेलको ब्रेकअघि नै दोहोरो गोल गरेका थिए।
दोस्रो हाफमा फ्रिकिकमा पाएको मौकालाई सुन्दर गोलमा परिणत गर्दै ह्याट्रिक पुरा गर्दा उनले क्लब करियरमा पचासौ र समग्र करियरमा ६० औं ह्याट्रिक पूरा गरे।
उनले अहिले १६ लगातार सिजनमा २० वा सो भन्दा बढी गोल गर्ने किर्तिमान बनाएका छन्।
रोनाल्डोले पहिलो पटक २००६/०७ सिजनमा रेड डेभिल्सका लागि २३ गोल गरेसंगै २०-गोलको रेकर्ड विस्तार गरेका थिए।
त्यसपछि उनले ०७/०८ सिजनमा ४२ प्रहार गरे, र रियल म्याड्रिडमा नौ वर्षको कार्यकालमा क्लबको रेकर्ड स्कोरर बन्दा, २०१०-११ देखि २०१५-१६ सम्म लगातार ६ सिजन ५० गोल गर्ने किर्तिमान बनाए।
रोनाल्डोले २०१८ मा इटालीमा युभेन्टसको लागि क्लिनिकल फिनिशर बनेका थिए। गत अगस्टमा युनाइटेडमा फर्किनुअघि टुरिन जाइन्ट्ससँग तीन सिजनमा १०१ गोल गरेका थिए।
३७ वर्षीय रोनाल्डोले आफ्नो उल्लेखनीय कीर्तिमान विस्तार गर्दा यो सम्भवतः ऐतिहासिक देखिन्छ।
ह्याट्रिक संगै उनले गरेको फ्रिकिक गोल संख्या पनि ५८ पुर्याएका छन्।
यो किर्तिमानमा उनको छेउ मेस्सी भएता पनि यो सिजन उनले लगातार २० गोल वा बढीको रेकर्ड कायम गर्न असम्भब जस्तै देखिएको छ।
अर्जेन्टिनाका महान मेस्सीले बार्सिलोनाका लागि लगातार १३ सिजनमा २०-प्लस गोलहरू गरेका थिए, तर पेरिस सेन्ट-जर्मेनसँगको आफ्नो पहिलो वर्षमा भने कठिन समयको सामना गरिरहेका छन्।
बाँकी कुरालाई पन्छाउदै एउटै कुरा मात्र हेर्ने हो भने फुटबल जगतमा अहिले क्रिष्टियानो, गोल र कीर्तिमान यी तिनै कुरा एकअर्काका परिपुरक सँगै पर्याय भएका छन्।