हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इटालियन सिरियमा गएराति सम्पन्न खेलमा जोसे माउरिन्होको टोली एएस रोमाले एसी मिलान विरुद्ध घरेलु मैदानमा पराजय व्यहोरेको छ।
रोमा विरुद्धको खेलमा नायक भने एसी मिलानका ४० वर्षीय हस्ती ज्लाटन इब्राहिमोभिच रहे।
रोमालाई २-१ ले उसकै मैदानमा पराजित गर्दा दुवै गोलमा इब्राहिमोभिचको मुख्य भुमिका रहेको थियो।
मिलानलाई खेलको २५औं मिनेटमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै इब्राहिमोभिचले घरेलु लिगमा व्यक्तिगत ४००औं गोल पूरा गरे।
पहिलो हातमा एक शुन्यको अग्रता बनाएको एसी मिलानले दोस्रो हाफमा ज्लाटनकै माध्यमबाट अर्को पेनाल्टी जितेको थियो।
रोमाका खेलाडीले ईब्रालाई डीबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई फ्रांक क्यासीले गोल गर्दै मिलानलाई २-० को स्थितिमा पुर्याएका थिए। खेलको अन्तिम समय (९०+३)मा रोमा का लागि शारवीले सान्त्वना गोल गरेका थिए।
सिनियर करियरमा ५०० गोल गरिसकेका ज्लाटन इब्राहिमोभिचले विश्वमा सर्वाधिक रुचाइने लिगहरु लगभग सबै खेलिसकेका छन्। घरेलु लिगमा ४०० भन्दा बढी गोल गर्ने खेलाडीका रुपमा उनि भन्दा अघि अहिले सक्रिय खेलाडीका रुपमा मेस्सी र रोनाल्डो मात्र रहेका छन्।
उनले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड, स्पेनिस ला लिगामा बार्सिलोना, इटालीयन सेरीयामा लगभग सबै उत्कृस्ट क्लब: एसी मिलान, इन्टर मिलान, युभेन्टसमा घुरान्धार खेलाडीको रूपमा आफ्नो नाम लेखिसकेका छन्।
डच लिगमा आयक्सबाट उदाएका ४० वर्षीय भेट्रान, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनको सर्बाधिक गोलगर्ता मध्येका एक रहेका ज्लाटनले खेलजिवनमा ३१ ट्रफी जितेका छन्। विश्व फुटबलमै सुपरस्टार रहेका ज्लाटनले युरोपमा आफूले खेलेका लगभग सम्पूर्ण क्लबहरुमा एक उपाधि भएपनि जितेका छन्।
स्विडीश क्लब माल्मोबाट व्यक्तिगत खेल जीवन सुरु गरेका स्टार खेलाडी ज्लाटानले अमेरिकी एमएलएस क्लब एलए ग्यालेक्सीमा पनि झण्डै दुई सिजन खेल्न भ्याए।
क्लबमा मात्र नभई उनी स्वीडेनका लागि सबैभन्दा बढी गोल गर्ने सर्वाधिक गोलकर्ता रहेका छन्। स्विडिश टोलीका लागि ११८ क्याप जितेका ज्लाटनले ६२ गोल गरेका छन्।