हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| मंसिर ३ गते देखि सुरु हुने सहिद स्मारक ए डिभिजन लिग प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।
कुल १४ टोलीले सहभागिता जनाउने घरेलु प्रतियोगिता कात्तिक २९ गते नै सुरु हुने भनिएता पनि प्राविधिक समस्या देखाउँदै एन्फाले मंसिर ३ गतेलाई सारेको थियो।
लिगको उद्घाटन खेलमा सातदोबाटो युवा क्लब र फ्रेण्ड्स क्लबले दशरथ रंगशालामा मंसिर ३ गते साँझ प्रतिस्पर्धा गर्नेछन्।
करिब डेढ वर्षदेखि सञ्चालन हुन नसकेको घरेलु लिगमा दर्शकको संख्या भने निकै कम हुने गरेको छ।
थ्रीस्टार,मनाङ मर्स्याङदी र नेपाल पुलिस क्लव जस्ता एकाध क्लबले मात्र नेपालको घरेलु लिगमा दर्शकहरु तान्न सफल भएको अवस्थामा अखिल नेपाल फुटबल संघले दर्शकको उपस्थिति वृद्धिका लागि केही परिवर्तन ल्याएको छ।
रंगशालामा फ्लड लाईटमा खेल सञ्चालन गर्ने देखि लिएर टिकट को मुल्य निर्धारण सँगै भित्रका सुविधाहरुमा पनि केही परिवर्तन ल्याएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरका अनुसार लिग अवधिभर दर्शकहरुका लागि सामान्यतर्फ १०० र भिआईपीतर्फ ५०० टिकट दर तोकिएको बताए ।
त्यस्तै यसपटक लिग हेर्न आउने दर्शकहरुका लागि रिफ्रेसमेन्ट सुविधा पनि दिइने एन्फाले जनाएको छ । यस सिजनमा अब खेल हेर्दै दर्शकहरुलाई चिया, कफी लगायतको रिफ्रेसमेन्ट सुविधा दिने एन्फाको तयारी छ।
मंसिर ३ गते हुने लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेण्डस क्लब भिड्ने कार्यक्रम छ । जुन खेल फ्लड लाईटमा हुनेछ । साथै खेलहरु प्रत्येक साताको शुक्रबार, शनिबार र आइतबार हुने एन्फाले घोषणा गरेको छ।
लिग विजेताले यसपटक लिग उपाधिसहित नगद ७५ लाख पाउनेछ भने उपविजेताले ५० लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद २५ लाख पाउने एन्फाले घोषणा गरिसकेको छ ।