हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा चेल्सीले वेस्ट ह्याम विरुद्ध संघर्षपूर्ण जित निकालेको छ।
घरेलु मैदानमा लगातार तीन खेलमा पराजय पश्चात चेल्सीले ह्याम्मर्स विरुद्ध १-० को जित निकाल्न सफल भएको हो।
दोस्रो हाफको ८५ औं मिनेटमा चेल्सीका मिडफिल्डर जोर्जिन्होले पेनाल्टी मिस गरे पनि खेलमा ३ अंक बटुल्न भने सक्षम रह्यो।
पाहुना टोली वेस्ट ह्यामले आकर्षक रक्षात्मक खेल देखाउँदा, बराबरी तर्फ मोडिएको खेलमा पुलिसिकले ९०औं मिनेटमा घरेलु टोलीलाई जित दिलाए।
अघिल्लो खेलमा आर्सनल विरुद्ध घरेलु मैदानमा ४-२ ले पराजित भएको चेल्सीले आजको खेलमा पनि राम्रो प्रदर्शन गर्न सकेको थिएन।
बल स्वामित्व राख्न सकेपनि चेल्सीले खेलको अधिकांश समय वेस्ट ह्यामको फाइनल थर्डमा राम्रो मुभ बनाउन सकेन।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका चेल्सीका मार्को एलोनसोको लगातारको क्रस र आक्रमण ह्याम्मर्सले विफल बनाईदिएको थियो।
वेस्ट ह्यामका तर्फबाट यार्मोलेनकोले राम्रो प्रदर्शन गर्दै चेल्सीको डिफेन्सलाई हलचल बनाएपनि टोलीलाई अंक दिलाउन भने सकेनन्।
खेलको अन्तिम १० मिनेट वेस्ट ह्याम १० खेलाडीमा सीमित भएको थियो। लुकाकुलाई डी बक्समा फल गरेपछि भारको सहायतामा डसनले ८५औ मिनेटमा रातो कार्ड पाए।
जितसँगै चेल्सीले शीर्ष तीनमा आफ्नो स्थानलाई मजबुत बनाएको छ। पछिल्ला ३ मध्ये दुई खेलमा पराजय पश्चात चौथो स्थानको टोलीबाट दबाब खेपेको चेल्सीले जित पश्चात भने राहतको सास पाएको छ।
३२ खेलमा ६५ अङ्क बटुलेको चेल्सी तेस्रो स्थानमा रहेको छ भने उसलाई चुनौती दिँदै आर्सनल हालको लिगको चौथो स्थानमा रहेको छ।
हार बेहोरेको वेस्ट ह्याम भने सातौ स्थानमा रहेको छ।
युरोपा लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको वेस्ट ह्यामले आफ्नो उत्कृष्ट सिजनलाई निरन्तरता दिने लय समात्न भने असमर्थ रह्यो।
तर उसका लागि झन्डै ३ दशक पछि प्रिमियर लिगमा आफ्नो सबै भन्दा राम्रो प्रदर्शन देखाउने मौका रहेको छ।
ह्याम्मर्स सन् १९९८को सिजनमा पाँचौ स्थानमा रहेको थिय जुन उसको लिगमै सबैभन्दा राम्रो प्रदर्शन रहेको छ।