हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चेल्सीले आफ्ना पुराना स्ट्राइकर रोमेलु लुकाकुलाई फेरी अनुबन्धन गरेको छ।
अघिल्लो हप्ता सय मिलियन को प्रस्ताव इन्टर मिलानले अस्वीकार गरेको थियो। त्यसपछि आफ्नो प्रस्तावलाई केही सुधार्दै यस हप्ता चेल्सीले नयाँ प्रस्ताव राखेपछि इन्टर मिलानले त्यसमा सहमति जनाएको हो।
चेल्सीले सम्झौताक्रममा अहिलेसम्म को क्लबको इतिहासमा लुकाकुलाई आफ्नो सबै भन्दा महंगा खेलाडी बनाउन लागेको छ।
इन्टर मिलान र चेल्सी बीच ११५ मिलियन युरोको सम्झौता भएको छ।सम्झौता अनुसार लुकाकुले चेल्सीमा हप्ताको दुई लाख पाँचहजार युरो तथा बोनस पाउनेछन्।
गएको सिजनमा च्याम्पियनस् लिग जितेपनि आफ्ना मुख्य अग्रपंक्तिका खेलाडी हरुको प्रदर्शनलाई लिएर चेल्सीको व्यवस्थापन खुसी भने थिएन।
आफ्ना एकेडेमीका खेलाडी ट्यामी अब्राहमले गत सिजन ३२ खेलमा मात्र १२ गोल गर्न सफल भएका थिए भने उदयमान खेलाडीका रूपमा चेल्सीमा भित्रिएका टीमो वार्नरले ५२ खेल खेल्दै केवल १२ गोल गरेका थिए।
त्यस्तै अर्का अनुभवी खेलाडी ओलिवियर जिरुड़को प्रदर्शन बिर्सन लायक नै रहेको थियो। उनले चेल्सीबाट ३१ खेल खेल्दै केवल ११ गोल गर्न सफल भएका थिए। ओलिवियर ले भने चेल्सी छाडिसकेका छन्। भर्खरैमात्र सम्पन्न युरो २०२० पछि उनि एसी मिलान गएका हुन्।
गत सिजन आएका स्ट्राइकर टीमो वेरनर संगै अरु फरवार्डहरुले खासै राम्रो छाप छोड्न नसकेपछि बजारमा चेल्सी नयाँ स्ट्राइकर को खोजीमा लागि परेको थियो।
सोही निर्णयअनुसार चेल्सीले निकै उत्कृष्ट फर्ममा रहेका आफ्ना पुराना खेलाडी लकाकुलाई भित्र्याएको हाे। अघिल्लो सिजन इन्टर मिलान लाई ११ वर्ष पछाडि घरेलु लिग जिताउनका लागि मुख्य भूमिका खेलेका थिए।
केही समय यता उत्कृष्ट फर्ममा रहेका लुकाकुले पछिल्लो दुई वर्षमा क्लब र बेल्जियम का लागि कुल ७० भन्दा बढी गोल गर्न सफल भैसकेका छन्।
रिपोर्ट अनुसार चेल्सीमा रहुन्जेल उनको नेट तलब मात्रै बर्षको १२ मिलियन रहने बताइएको छ। त्यसपछि उनको प्रदर्शन अनुसार बोनस, इमेज राइट्स र अन्य विभिन्न कुराहरुले उनको आयमा थप योगदान दिनेछ।
रोमेलु आफ्नो करियरको सुरुवातमा सन् २०११ देखि २०१४ सम्म चेल्सीमा बसेका थिए। ३ बर्षको बसाईमा उनले चेल्सीको जर्सीमा केवल १५ खेल खेलेका थिए।