हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनको दोस्रो ठुलो क्लब बार्सिलोना हाल चरम आर्थिक समस्याबाट गुज्रिरहेको छ।
अघिल्लो व्यवस्थापनले बार्सिलोनालाई प्रदर्शन मात्र नभई आर्थिक अवस्थामा पनि दयनीय बनाएर छोडेको थियो।
खर्बौ रुपैयाँ ऋण लिएर सहि निर्णय गर्न नसक्दा, बार्सिलोना एकताका क्लबनै नरहने हो कि भन्ने आशंका उब्जिएको थियो।
खेलाडीहरुलाई निकै चर्को मूल्यमा भित्र्याउनु सँगै घरेलु तथा युरोपेली फुटबलमा राम्रो प्रदर्शन गर्न नसक्नु बार्सिलोनाको पतनको मुख्य कारण बनेको थियो।
यस सिजनको पूर्वार्धमा पनि बार्सिलोनाले प्रदर्शनमा निखारता ल्याउन सकेको थिएन।
पुर्ब प्रशिक्षक रोनाल्ड किम्यानको नेतृत्वमा पुनः एक पटक बार्सिलोनाले च्याम्पियन्स लिग गुमाउने स्थिति बनेको थियो।
तर क्लवमा जाभीको आगमनसँगै बार्सिलोनाले आफ्नो मुहार फेर्न सफल भएको छ।
युरोपियन कपमा छनौट हुन, हाल शीर्ष २ मा रहेको टोलीले सिजनको सुरुवातको समय भन्दा अहिलेको सम्भावनालाई धेरै बलियो बनाएको छ।
कथम कदाचित बार्सिलोना यस सिजन शीर्ष चारमा नपरेको खण्डमा युरोपियन कप गुमाउनु हो र त्यो भनेको बार्सिलोनाको आर्थिक संकटमा अझ धेरै भार पर्नु रहेको छ।
च्याम्पियन्स लिगमा छनौट नभएको खण्डमा बार्सिलोनाले झण्डै सय मिलियन भन्दा बढी आम्दानी गुमाउने छ।
लियोनल मेस्सीले बार्सिलोनाले छाड्नुको कारण पनि आर्थिक स्थिति नै रहेको थियो।
बिगतका केहि निर्णयका कारण अझै पनि बार्सिलोनाले ठूलो मूल्यमा खेलाडीहरु भित्र्याउन सक्दैन।
न त चर्को मूल्य तिरेर कुनैपनि खेलाडीको सम्झौता नविकरण गर्ने अवस्थानै रहेको छ। च्याम्पियन्स लिग नभएको खण्डमा बार्सिलोनाले आफ्ना प्रायोजकबाट आउने आम्दानीको हिस्सा पनि गुमाउने छ।
यसै सिजन स्पोटिफाई र अन्य कम्पनीहरुसँग प्रायोजनको सम्झौता गरे पश्चात बार्सिलोनाले अलिकति भए पनि राहतको सास फेर्न पाएको छ।
बार्सिलोनाले यदि आगामी सिजन पनि शिर्ष ४ मा रहँदै शिर्ष डिभिजन तथा घरेलु उपाधिहरू जित्ने हो भने आफ्नो आर्थिक अवस्थालाई सुदृढ बनाउने राम्रो अवसर रहेको छ।