हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आधुनिक क्रिकेटमा लोकप्रिय मानिएको टिट्वेन्टी विश्वकप प्रतियोगिताको सातौँ संस्करण आजदेखि सुरु हुँदैछ।
सन् २०२०मै प्रतियोगिता हुने भनिएता पनि कोभिडका कारण एक वर्ष पछाडि धकेलिएको थियो।
भारतमा आयोजना हुने भनिएको यस प्रतियोगिता, भारतमा हुन सक्ने कोभिडको तेस्रो लहरको कारण देखाउँदै त्यहाँबाट सारिएर दुबई र ओमानमा सम्पन्न हुने भएको छ।
यसपटकको टीट्वेन्टी विश्वकप प्रतियोगितामा ६ टिमले विश्वकप क्वालिफायर चरण पार गरेर विश्वकपमा आफ्नो स्थान पक्का गरेका छन्।
टीट्वेन्टी विश्वकपको यस संस्करणमा छनौट भयेका ६ र पूर्ण सदस्य १० सहित कुल १६ टोलीले सहभागिता जनाउनेछन्। सहभागी १६ टोलीलाई प्रारम्भिक रुपमा समूह चरण र सुपर १२ गरि दुई समूहमा विभाजन गरिएको छ।
टीट्वेन्टी बरियता अनुसार शिर्ष ८ मा रहेका टोलीहरू समूह चरणको खेल नखेली सोझै सुपर १२ मा प्रवेश गरेका छन्। सुपर १२ लाई पनि समूह चरणको जस्तै गरेर स्लट १ र स्लट २ गरेर दुई समूह बनाइएको छ।
अर्को तिर भने वरियतामा शिर्ष ८ भन्दा तल रहेका तथा विश्वकप क्वालिफायरबाट छनौट भएर आएका ८ टोलीहरूले भने समूह चरणका खेल खेल्नेछन्। समुह चरणका टोलि हरुलाई समूह ‘ए’ र समूह ‘बि’ गरेर दुई समूहमा विभाजन गरिएको छ। उक्त दुई समूहबाट शीर्ष दुईमा आउने ४ टोली सुपर १२ मा निर्धारित स्लटमा पुगेर प्रतिस्पर्धा गर्नेछन्।
आश्चर्यजनक रूपमा वंगलादेश र सन् २०१६को विश्वकप विजेता श्रीलंकाले भने यसपटक समूह चरणमा प्रतिस्पर्धा गर्ने भएका छन्। विश्व बरियतामा शिर्ष आठमा पर्न असफल भएका कारण दुई टोलीले समूह चरणमा प्रतिस्पर्धा गर्ने भएका हुन्।
अक्टोबर १७ देखि २२ सम्म समूह चरणका कुल १२ खेल खेलाइनेछ। सुपर १२ मा पुग्ने चार टोलीको टुंगो लागे सँगै २३ अक्टोबर देखि सुपर १२ का खेल हरु सुरु हुनेछन्।
आज दिउँसो हुने पहिलो उद्घाटन खेलमा ओमान र पपुवा न्युगिनी भिड्दै छन् भने बेलुकी हुने अर्को खेलमा बंगलादेशले स्कटल्याण्डको सामना गर्नेछ।