टिट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा आज दुई पूर्व च्याम्पियन भारत र पाकिस्तान आपसमा आमने सामने हुँदैछन्।
पराम्परागत दुश्मन भन्नु अथवा प्रतिद्वन्दी विश्व क्रिकेटमा पाकिस्तान र भारतको खेल निकै अपेक्षित हुने गर्दछ।
राजनैतिक देखि भौगोलिक हिसाब, सम्पूर्ण किसिमले भारत-पाकिस्तान आपसमा प्रतिद्वन्दी रहेको हुदाँ भारत र पाकिस्तानका जनतामाझ मात्र हैन विश्वक्रिकेटमै खेलको प्रमुख चाख रहने गरेको छ।
विश्वकपमा सदाझैँ पाकिस्तान विरुद्ध अपराजित रहेको भारतको आजको लक्ष्य पनि अपराजित यस श्रृंखलालाई निरन्तरता दिनु नै रहनेछ।
२०१७ मा आईसीसी च्याम्पियन्स ट्रफीमा पाकिस्तान विरुद्धको हार भारतलाई आजको पाकिस्तान विरुद्धको खेलमा मलजलको रुपमा प्रयोग हुने देखिन्छ।
अर्कोतिर निकै खराब परिस्थितिबाट गुज्रिँदै गरेको पाकिस्तानी क्रिकेट टीम रमिज राजाको नयाँ व्यवस्थापन पछि उकालो लाग्ने संघारमा देखिन्छ।
गत महिना बेलायत र न्यूजिल्याण्डले पाकिस्तानको भ्रमण रद्ध गरेपछि आईसिसी विरुद्ध निकै रुष्ट बनेको पाकिस्तानी टोली र बोर्ड , यस विश्वकपमा शानदार प्रदर्शन गर्दै विश्व क्रिकेटमा बेलायत र न्यूजिल्याण्डले दिएको चोटको प्रतिकार गर्ने अठोटका साथ दुबई पुगेको छ।
पाकिस्तानले भारतविरुद्ध आईसीसीका प्रतियोगिताहरुमा च्याम्पियन्स ट्रफी बाहेक अन्य खेलहरू जित्न सकेको छैन। सन् २००७को पहिलो टि ट्वेन्टी विश्वकप फाइनलमा पनि भारतविरुद्ध नै हार बेहोरेको पाकिस्तान टि ट्वेन्टी र एकदिवसीय विश्वकपमा कुल १२ खेल्दा बारेमा ११मा पराजय व्यहोरेको छ भने एक खेल नतिजा बिहिन रहेको छ।
भारतीय कप्तानमा विराट कोहलीलाई पनि आइसिसी प्रतियोगिताहरुमा ठूला खेलमा प्रदर्शन गर्न नसक्नु अर्को दबाब रहेको छ। कोहलीको नेतृत्वमा भारतले २०१७ को च्याम्पियन्स ट्रफी फाइनल खेलेको थियो भने सन् २०१९को एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो।
भारतीय टोलीलाई क्रिकेटको तीनैवटा फर्म्याटमा एक नम्बर राष्ट्र बनाए पनि कुनै पनि प्रतियोगिता जित्न सक्नु ठूलो अभिशाप बनेको छ। त्यसैकारण पनि यसपटक प्रतियोगिता जित्दै आफ्नो कप्तानीमा एउटा ट्रफी जिताउनु कोहलीका लागि निकै ठूलो चुनौती रहेको छ।
खेल आज साँझ ७: ४५मा दुबई अन्तरास्ट्रिय मैदानमा हुने छ।