हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले आठौं संस्करणको टि-२० विश्वकपको उपाधि जितेको छ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा न्युजिल्यान्डले दिएको १ सय ७२ रन को लक्ष्य अस्ट्रेलियाले १८.५ ओभरमा केवल दुई विकेट गुमाउदै आफ्नो पहिलो टि २० विश्वकप बिजेता बन्ने लक्ष्य पुरा गरेको थियो।
अष्ट्रेलियाको जितमा मिचेल मार्शले सर्बाधिक ५० बलमा ६ चौका र ४ छक्का सहित ७७ रनको बिजयी पारी खेले।
ओपनर डेविड वार्नरले ३८ बलमा ४ चौका र ३ छक्का सहित ५३ रनमा आउट भए भने कप्तान आरोन फिन्चले केवल ५ रन बनाए। ग्लेन म्याक्सवेल १८ बलमा ४ चौका र १ छक्का सहित २८ रनमा अविजित रहे।
टस हारेर ब्याटिंगको निम्तो पाएको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ४८ बलमा १० चौका र ३ छक्का सहित सर्वाधिक ८५ रनको योगदान दिए।
ओपनर मार्टिन गप्तिलले ३५ बलमा ३८ रन बनाउँदा डरील मिचेल ले ११ रन जोडे। त्यसै गरी मध्यक्रमका ब्याट्सम्यान ग्लेन फिलिप्सले १८ रन बनाउँदा जेम्स नीशमले १३ रन को योगदान दिँदा किवी टोलीले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १७२ रन जोडेको थियो।
अस्ट्रेलियाका तर्फबाट तीव्र गतिका बलर जोश ह्याजलवुडले ४ ओभरमा १६ रन दिँदै ३ विकेट लिए भने एडम जाम्पाले १ विकेट लिन सफल भए।
पराजय संगै न्युजिल्यान्डले भने विश्व क्रिकेटमा लगातार तिन सीमित ओभरको विश्वकपको फाइनल गुमाएको छ। किवी टोलीले सन् २०१५ मा अस्ट्रेलिया विरुद्ध र सन् २०१९ मा इंग्ल्यान्ड विरुद्ध एकदिवसिय विश्वकपको फाइनलमा पराजित भएको थियो।
२०१० मा को टि २० विश्वकप फाइनलमा अष्ट्रेलिया इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको अस्ट्रेलियन टोलीको भने यो दोस्रो फाइनल रहेको थियो।
अष्ट्रेलिया विजेताले १.६ मिलियन डलर पुरस्कार पाउने छ । उप विजेता टोली न्युजिल्यान्डले ८ लाख डलर प्राप्त गर्ने भएका छ ।अष्ट्रेलियाले यसअघि दुई च्याम्पियन्स ट्रफी र पाँच विश्वकप उपाधि जितेको छ।
अस्ट्रेलियाका मिच मार्शले म्यान अफ द म्याच पाए भए भने डेभिड वार्नर प्रतियोगिताको उत्कृस्ट खेलाडी घोषित भए।