हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| दुबई र ओमानमा जारी आइसिसी टि-२० विश्वकप प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज इंग्ल्यान्ड र न्युजिल्यान्डबीच आबूधाबी स्थित जायद क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुँदैछ।
यी दुबै टोलीले सन् २०१९ मा इंग्ल्यान्डमा भएको एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा खेलेका थिए। जसमा इंग्ल्यान्डले किवी टोलीलाई नै पराजित गरेर विश्व च्याम्पियन बनेको थियो।
यसै सिजन पहिलो विश्व टेस्ट च्याम्पियन बनेको किवी टोलि विश्वकपमा फाइनलमा उपस्थिति जनाउदै पहिलो पटक विश्वबिजेता बन्ने दाउमा रहेको छ। अर्कोतिर भने सन् २०१० मा एकपटक उपाधि जितिसकेको इन्ग्लिश टोलिलाई दोस्रो पटक च्याम्पियन बन्ने राम्रो अवसर रहेको छ।
दुई बर्ष अघिको एकदिवसिय विश्वकप फाइनल खेल सरह रहेकोले आजको सेमीफाइनलमा एउटा टोलीलाई बदला लिने राम्रो मौका रहेको छ भने अर्को टोलीलाई पुरानै प्रतिद्वन्दीलाई हराउदै पुनः सीमित ओभरको क्रिकेटमा आफ्नो बर्चस्व राख्ने अर्को मौका।
इंग्ल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोड्दै सुपर १२ को समूह १ मा शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो । सुपर १२ को समूह २ बाट न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित दोस्रो स्थानमा रहेर सेमिफाइनल खेलेको थियो । इंग्ल्यान्डले समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग १० रनको हार बेहोरेको थियो।
न्युजिल्यान्डले पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटको हारको सामना गरेको थियो । इंग्ल्यान्डले वेस्टइन्डिजलाई ६ विकेट, बंगलादेश र अष्ट्रेलियालाई ८-८ विकेट र श्रीलंकालाई २६ रनले हराएको थियो । न्युजिल्यान्डले भारतलाई ८ विकेट, स्कटल्यान्डलाई १६ रन, नामिबियालाई ५२ र अफगानिस्तानलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो।
इंग्ल्यान्डको टोलीलाई भने आज महत्वपूर्ण खेलाडी जेसन रोयको अनुपस्थितिले मात दिन सक्छ। ओपनर जेसन रोय चोटका कारण विश्वकप टोलीबाट बाहिरि सकेका छन्।
किवी टोलिमा उत्कृष्ट कप्तानी, टिम एकता र अनुशासनले उत्कृष्ट प्रभाव छाड्दै आएको छ । इंग्ल्यान्ड एक उत्कृष्ट टोली हो । विशेष गरि ब्याटिङ निकै मजबुत र गहिराई छ। त्यसैले आजको खेल निकै रोमान्चक हुने अपेक्षा गर्न सकिन्छ।