हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जारी टीट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत समूह १ को बुधबार भएको पहिलो खेलमा इंग्ल्याण्डले बङ्गलादेशलाई ८ विकेटले पराजित गरेको छ।
बङ्गलादेशले दिएको १२५ रनको सामान्य लक्ष्य इङ्ल्यान्डले १४.२ ओभरमा २ विकेटको नोक्सानीमा पुरा गरेको थियो।
इंग्ल्यान्डको जितमा ओपनर जेसन रोयले ३८ बलमा ६१ रनको विस्फोटक पारी खेले भने जस बटलरले १८ रन बनाए।
दविद मलनले २८ रन बनाउँदा जोनी बेरस्टोले नट आउट ८ रन बनाउँदै इंग्ल्याण्डलाई लगातार दोस्रो जित दिलाए।
वंगलादेशका तर्फबाट शोरीफूल इस्लाम र नसुम अहमदले समान १-१ विकेट लिँदा अन्य बलरहरुले भने विकेट लिन सकेनन्।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको बङ्गलादेशको निर्णय आज विफल साबित भएको थियो। आफ्ना माथिल्लो तथा मध्यक्रमका कुनै पनि ब्याट्सम्यानले राम्रो स्कोर बनाउन सक्दा बङलादेश निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा केवल १२४ रनमा रोकिएको थियो।
वंगलादेशका तर्फबाट सर्वाधिक रन बनाउने क्रममा मुष्फिकर रहिमले ३० बलमा २९ रनको योगदान दिए भने कप्तान महमदुल्लाले १९ रन बनाए। तल्लो क्रममा ब्याटिङ गर्न आएका नुरुल हसनले १६ रन बनाउँदा बलर नासुम अहमदले १९ रन बनाए।
बङ्गलादेशलाई सस्तैमा रुपमा समेट्दा इङ्ल्यान्डका तीव्र गतिका बलर टाईमल मिल्सले सर्बाधिक ३ विकेट लिए। मोइन अलि र लिभिङस्टोनले समान २-२ विकेट लिए भने क्रिस वोक्सको नाममा एक विकेट रह्यो।
३८ बलमा ६१ रनको विस्फोटक पारी खेलेका जेसन रोय खेलको म्यान अफ द म्याच घोषित भए।
नतिजा संगै बंगलादेशले विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। अघिल्लो खेलमा बंगलादेश श्रीलंका विरुद्ध ५ विकेटले पराजित भएको थियो।
पहिलो खेलमा वेस्ट इण्डिजलाई हराएको इंग्ल्यान्डले भने दोस्रो जित निकाल्न सफल भएको छ।
समुह १ मा दुई खेलमा दुई जित हात पारेपछि इंग्ल्यान्डको सेमिफाईनलमा पुग्ने सम्भावना अझ मजबुत बनेको छ।