हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| दक्षिण अफ्रिका र भारतको जारी एकदिवसीय क्रिकेट शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल आज हुँदैछ।
दक्षिण अफ्रिका भ्रमण अन्तर्गत तीन खेलको टेस्ट सिरिज २-१ ले गुमाएको भारतीय टोली एकदिवसीय शृंखलामा पनि पछि परेको छ।
पहिलो एकदिवसीय खेलमा गुमाएर जारी सिरिजमा १-० ले पछि परिसकेको भारतीय टोली आज जित निकाल्दै सिरिज बराबर गर्न चाहन्छ।
तीन खेलको श्रृंखला रहेको यस एकदिवसिय शृंखला आज पनि दक्षिण अफ्रिकाले खेल जितेमा, टेस्ट र एकदिवसीय गरेर दुबै श्रृंखला दक्षिण अफ्रिकाले आफ्नो नाममा पार्नेछ।
लिमिटेड क्रिकेटमा हालै नियुक्त भएका भारतीय कप्तान रोहित शर्माको अनुपस्थितिमा केल राहुलको नेतृत्वमा रहेको भारतीय टोलीले शृंखलाको पहिलो खेल ३१ रनले गुमाएको थियो।
भारतीय माथिल्लो क्रमबाट राम्रो सुरुवात मिलेपनि मध्यक्रममा पुनः खस्किन पुग्दा भारतले पहिलो एकदिवसीय खेल गुमाउन पुगेको थियो।
त्यसै कारण पनि मध्यक्रममा रहेका भारतीय ब्याट्सम्यानहरुलाई राम्रो खेल प्रदर्शन गर्ने दबाब रहनेछ। सोहि कमजोरीको एकपटक फाइदा उठाउन सके दक्षिण अफ्रिकाले भने सिरिज आफ्नो नाममा गर्न सक्नेछ।
टेस्ट शृंखला पनि गुमाइसकेको साथै जारी एकदिवसीय शृंखलामा पनि पछि परिसकेको स्थितिमा भारतीय टोलीले आज खेल जित्दै सिरिजमा पुनरागमन गर्ने उद्देश्यका साथ मैदान उत्रने छ।
दक्षिण अफ्रिकाको पार्ल स्थित बोल्यन्ड पार्कमा हुने दोस्रो एकदिवसीय खेलमा भारतीय पक्षबाट कुनै पनि खेलाडी परिवर्तन नहुने देख्न सकिन्छ।
अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शतक प्रहार गरेका अनुभवी खेलाडी द्वय टेम्बा बाभुमा र वान डेर हुसेनबाट दक्षिण अफ्रिकन टोलीले एकपटक पुनः राम्रो इनिङको अपेक्षा गर्ने छ।
श्रृंखलाको तेस्रो तथा अन्तिम खेल २३ जनवरीमा केप टाउनमा हुनेछ।