हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारत र श्रीलंका बिच भर्खरै सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय टीट्वेन्टी खेलमा श्रीलंका ४ विकेटले विजयी भएको छ।
भारतले दिएको १३३ रनको बिजयी लक्ष्य श्रीलङ्काली टोलीले १९ दशमलव ४ ओभरमा ६ विकेटको क्षतिमा १३३ रन बनाउँदै विजय हासिल गरेको हो।
टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको श्रीलंकाले भारतलाई १३२ रनको मध्यम स्कोरमा रोक्न सफल भएको थियो। अलराउन्डर क्रुनाल पाण्ड्यालाई कोरोना देखिएपछि हिजो हुने भनिएको खेल स्थगित गरिएको थियो।
थप अरु खेलाडीहरू आइसोलेशनमा भएकाले आजको खेलमा ८ खेलाडी परिवर्तन गरेको भारतका लागि सर्बाधिक रन बनाउने क्रममा कप्तान शिखर धवनले ४० रनको योगदान दिएका थिए।
त्यसैगरी ओपनर रुतुराज गैकवादले १८ बलमा २१ रनको योगदान दिए भने देवदत्त पडीकलले २३ बल खेल्दै २९ रन बनाएका थिए। अरु ब्याट्सम्यानहरु खासै चल्न नसक्दा भारतले निर्धारित २० ओभरको खेल सकिँदा ५ विकेटको नोक्सानीमा १३२ रन बनाएको थियो।
स्लो पीचमा भारतलाई मध्यम स्कोरमा रोक्ने क्रममा श्रीलंकाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए। श्रीलंकाका लागि दुसमन्था चमिराले ४ ओवरमा २३ रन दिँदै एक विकेट लिए भने अकिला धनन्जयले ४ ओवरमा 29 रन दिंदै २ विकेट लिँदा सर्बाधिक विकेट लिन सफल भएका थिए। यसै गरि शानका र हासरंगा ले समान १-१ विकेट लिन सफल भएका थिए।
जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाली टोलीले उक्त लक्ष्य १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो। श्रीलंकाको पारी सम्हाल्ने क्रममा धनन्जय शिल्भाले नटआउट ४० रनको योगदान दिए भने ओपनर मिनोद भानुकाले ३१ बलमा ३६ रनको योगदान गरे। त्यस्तै करुनारत्ने ले नटआउट १९ रनको विजय पारी खेलेका थिए।
भारतीय टोली तर्फबाट हेर्न लायकको फिल्डीङ देखिएतापनि श्रीलंकाली टोलीलाई जित हासिल गर्नबाट रोक्न भने सफल भएनन्। भारतका लागि सबैभन्दा बढी विकेट लिने क्रममा कुलदीप यादवले चार ओभरमा ३० रन दिँदै २ विकेट लिए भने, भुवनेश्वर कुमार,चेतान सरकारिया, बरुन चक्रवर्ती र राहुलको चहरले समान 1-1 विकेट बाँडेका थिए।
नटआउट ४० रनको पारी खेलेका धनन्जय शिल्भा खेलको म्यान अफ द म्याच घोषित भएका थिए। जीतसँगै ३ खेलको श्रृंखला १-१ काे बराबरीमा आइपुगेको छ भने यस शृङ्खलाको अन्तिम तथा निर्णायक खेल कोलम्बोमा बिहीबार हुनेछ।