हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा नर्विच सिटी विरूद्ध १-० को कठिन जित हात पारेको छ।
नर्विचको घरेलु मैदान क्यारो रोडमा भएको खेलमा औसत भन्दा तल्लो स्तरको खेल देखाएको युनाइटेडलाई रोनाल्डोले पेनाल्टीमा गोल गर्दै महत्वूर्ण ३ अङ्क दिलाएका थिए।
समग्र खेलभरी युनाईटेडको अग्रपंक्ति नर्विच विरुद्ध निकै फिक्का देखिएको थियो।
पाहुना टोलीलाई निकै दबाबमा राख्दै घरेलु मैदानमा उत्कृष्ट खेल देखाएको नर्विचको टोलीले राम्रो फिनिशिंग गर्न नसक्दा ३ अङ्क गुमाएको थियो।
तालिकाको पुछारमा रहेको टोली नर्विचलाई म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डीगियाले बाधक बन्न पुग्दै अङ्क जोड्नबाट नकारेका थिए।
दोस्रो हाफमा नर्विचका खेलाडी काबाक र पुक्कीको र अन्त्यमा अतिरिक्त समयमा उत्कृष्ट बचाव गर्दै युनाइटेडका किपर डिगियाले व्यवसायिक करियरमा राष्ट्र र क्लबका लागि गरेर २००औं क्लिन शीट हात पारे।
पहिलो हाफमा क्रिस्टियानो रोनाल्डोले गोल गर्ने अवसर खेर फ्यालेका थिए। रास्फर्डले दिएको पासमा शट प्रहार गर्न ढिला गर्दा युनाइटेडले राम्रो मौका खेर फ्याकेको थियो।
खेलमा निकै कमजोर देखिएका रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमा गोल गर्दै सिजनको सातौं गोल गर्न भ्याए। नरविचको डी एरियामा सेट पिसमा रोनाल्डोलाई लडाएपछि म्यान युनाइटेडले पेनाल्टी पाएको थियो।
जित सँगै म्यान्चेस्टर युनाईटेड तालिकामा पाँचौं स्थानमा उक्लिएको छ भने नर्विच सिटी सबै भन्दा पुछारमा यथावत रहेको छ।