हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी सम्मानित भएका छन्।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रशिक्षक अब्दुल्ला अलमुताइरीलाई सम्मान गरेका हुन।
प्रधानन्त्री देउवाले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मुख्य प्रशिक्षक अलमुताइरीसँग भेट गरेका हुन्।
अलमुताइरीको प्रशिक्षणमा नेपाली टोली असोजमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो।
टोलीका खेलाडी, सहायक प्रशिक्षकलाई गत महिना सम्मान गर्दा अलमुताइरी नेपालमा थिएनन् । साफ च्याम्पियनसिपपछि उनी माल्दिभ्सबाट कतार गएका थिए।
सरकारले पहिलो पटक साफ च्याम्पियनसिपमो फाइनल पुगेको टोलीका २३ खेलाडीलाई जनही ५ लाख र ३ प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ प्रदान गरेको थियो।
नेपाली खेलाडीहरुमा पर्याप्त प्रतिभा रहेको र नेपालमा फुटबल प्रति मोह निकै रहेकोले अलमुताइरीले रंगशाला निर्माण गर्न सके थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर पाउने प्रधानमन्त्रीलाई जानकारी गराएको राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए।
प्रधानमन्त्री देउवाले सरकार फुटबललाई सहयोग गर्न सधै तयार रहेको जनाउँदै मन्त्रालयमार्फत छलफल गर्न सुझाएको उपाध्यायले बताए । उपाध्यायले नेपाली टोली एसियन कप छनोटको तयारीमा रहेको प्रधानमन्त्रीलाई जानकारी दिएको बताए।
प्रशिक्षक संगै प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा ब्याडमिन्टन खेलाडी प्रिन्सलाई पनि सम्मान गरेका छन्।
विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को विश्व वरीयताको जुनियरतर्फ शीर्ष स्थान उक्लदै इतिहास रचेको कारण प्रिन्सलाई प्रधानमन्त्रीले सम्मान गरेका हुन् ।
बीडब्लुएफले गत पुसमा सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्ष स्थान उक्लिएका थिए।
प्रिन्सले प्राप्त गरेको वरीयता विश्व जुनियर ब्याडमिन्टनमा नेपालको अहिलेसम्मकै सर्वोकृष्ट नतिजा हो। ब्याडमिन्टनको विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन्।
-एजेन्सी