हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल सुपर लिगको पहिलो सिजनको अत्याधिक सफलता र लोकप्रियता पछि नेपाल सुपर लिगको दोस्रो संस्करण २०२२ अप्रिल ९ देखि मे २१ सम्म हुने भएको घोषणा भएको छ।
पछिल्लो संस्करणमा भाग लिएका ७ टोलीबाट थप ३ टोली जोड्दै अब कुल १० टोलीले सुपर लिगमा प्रतिस्पर्धा गर्ने जनाएको आयोजक नेपाल स्पोर्ट्स एंड म्यानेजमेन्टले बताएको छ।
एनएसएलको आयोजक एनएसइएमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै एनएसएलको दोस्रो संस्करण चैत २६, २०७८ देखि जेठ ७, २०७९ सम्म आयोजना हुने जनाएको छ।
साथै यस संस्करण देखि पहिलो चरणका खेलहरु पोखरा र दोस्रो चरण काठमाडौंमा हुने आयोजकले जनाएको छ यद्धपी कोभिडका कारण उक्त निर्णयले अन्तिम स्वरूप लिईनसकेको बताईएको छ।
२०७८ वैशाख-जेठमा भएको प्रतियोगितामा ७ टोलीले सहभागिता जनाएका थिए। काठमाडौं रेजर्सले फाइनलमा धनगढी एफसीलाई पराजित गर्दै उपाधि जितेको थियो।
पुरस्कार राशिका बारेमा भने अन्य जानकारी नरहेका कारण पुरानै राशीलाई निरन्तरता दिन सक्ने सम्भावना रहेको छ। पहिलो संस्करणमा बिजेताले ३५ लाख र उपविजेताले १५ लाख पाएका थिए।