हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| काठमाडौंमा जारी त्रिकोणात्मक टी ट्वान्टी प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले लगातार तेस्रो जित निकालेको छ।
तालिकामा शीर्ष स्थान कब्जा गरेको नेपालले आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी माथि ३७ रनको विजय हासिल गरेको हो।
नेपालले दिएको २०४ रनको विशाल लक्ष्य पछयाएको पपुवा न्युगिनी निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाउदै १६६ रनमा समेटिएको थियो।
पपुवा न्यूगिनीका लागि उसका स्टार ब्याट्सम्यान चार्ल्स अमिनीले शानदार ब्याटिंग गर्दै ४७ बलमा ९ चौका सहित ६२ रनको योगदान दिए। टोनी उराले ४२ रन बनाए।
सुरुवातमै दुई विकेट गुमाएको पपुवा न्युगिनीलाई अमिनी र उराले ८६ रनको साझेदारी गर्दै बलियो स्थितिमा पुर्याएका थिए।
न्युगिनीलाई मध्यक्रममै रोक्ने क्रममा नेपालका लागि करण केसीले ह्याट्रिक संगै सर्बाधिक ५ विकेट लिए।
यस संगै टि-ट्वान्टीमा आफ्नो ५० विकेट पनि पुरा गरेका छन्। सोमपाल कामीले ४ ओभरमा ३४ रन दिदै २ विकेट चटकाए।
कप्तान सन्दिप लामिछानेले ४ ओभरमा ३४ रन दिदै १ विकेट लिए भने अभिनाष बोहोराले २ विकेट आफ्नो नाम गरे।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धरित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन बनाएको थियो।
नेपाललाई ठूलो स्कोर बनाउनका लागि मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले शानदार ब्याटिङ गरेका थिए।
चौथो विकेटका लागि आदिल संग ७६ रनको साझेदारी गरेका उनले, ३३ बलमा ३ चौका र ४ छक्का सहित ६६ रन प्रहार गरे।
डेब्यू खेल खेलेका आदिल अन्सारीले ११ बलमा १ चौका र ३ छक्कासहित ३३ रनको विष्फोटक इनिङ खेले।
युवा ब्याट्सम्यान रोहित पौडेल २३ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा आउट भए।
ओपनर कुशल भुर्तेलले आज पनि राम्रो ब्याटिंग गर्न सकेनन्। उनि केवल १७ रनमा पेभेलियन फर्किदा आसिफ सेखले ३८ रन बनाए।
पपुवा न्युगिनीका राइली हेकुरेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए। आबुआ मोरेआले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए।