हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेनले पछिल्लो दशककै यताकै सबैभन्दा बढी कमाइ गर्न सफल भएको छ।
यसै सिजन अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई आफ्नो क्लबमा भित्र्याए पश्चात, क्लबले आफ्नो कमाइमा अपत्यारिलो परिवर्तन देखाएको हो।
युरोपेली च्याम्पियन्स लिगमा नकआउट चरणमै बाहिरिए पनि लियोनल मेस्सी संगै आएका प्रायोजक तथा जर्सी विक्रीका कारण पेरिसको कमाइ आकासिएको हो।
कतारका सेखले सन् २०११ मा पेरिस सेन्ट जर्मनको स्वामित्व खरिद गरे पश्चात, क्लबले अहिलेसम्मकै सर्वाधिक कमाइ गर्न सफल भएको छ।
फ्रान्सेली पत्रिका एल एकुइपेले जनाए अनुसार क्लबले यस सिजन सात सय मिलियन युरो भन्दा बढी कमाई गर्न सफल भएको हो।
पेरिसले विज्ञापनबाट मात्रै करिब ३०० मिलियन युरो भन्दा बढी कमाई गर्न सफल भएको छ जुन अहिलेसम्म उसको इतिहासमै सबैभन्दा बढी रहेको छ।
युरोपेली च्याम्पियन्स लिगमा खराब प्रदर्शन जारी रहेपनि लियोनल मेसीको आगमन पेरिसका लागि निकै ठूलो फलिफाप हुन पुगेको छ।
उनकै कारण प्रायोजनमा वृद्धि संगै जर्सी बिक्रीमा पनि क्लबले अघिल्लो वर्षको तुलनामा निकै ठूलो सफलता हात पारेको छ।
उनको आगमनसँगै पेरिसले एक करोडभन्दा बढी जर्सी विश्वभरी बेच्न सफल भएको थियो।
जसमध्ये ६० प्रतिशत भन्दा बढी लियोनल मेस्सीकै नाम र नम्बर अंकित रहेका जर्सी रहेका छन्।
विश्वमै हाल म्यानचेस्टर युनाईटेडले मात्र पेरिस सेन्ट जर्मनको भन्दा बढी जर्सी बिक्री गर्न सफल भएको छ।
फ्रान्सेली महाशक्ति पेरिसलाई यस सिजनको टिकट बिक्रीले पनि राम्रो आम्दानी दिन सफल भएको छ।
अघिल्लो वर्ष च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेर आफ्नो आम्दानीमा टेलिभिजन प्रसारणका कारण झन्डै २०० मिलियन आम्दानी गरेको पेरिसले, यस सिजन भने त्यसको आधा भन्दा कम रकममा चित्त बुझाउनु परेको छ।
युरोपियन प्रतियोगितामा सोचेभन्दा चाँडै बहिर्गमन हुनुपरे पनि ऐतिहासिक आम्दानीले उसलाई आगामी सिजन थप मजबुत हुनठूलो मदत गर्नेछ।