हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा पेरिसले क्लब ब्रुगलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ।
खेलमा निकै दबाब बनाएको पेरिसले पहिलो हाफमै ३ गोल गरेको थियो। घरेलु टोलीका लागि दोस्रो मिनेटमा एमबाप्पेको गोलमा अग्रता लिएको थियो।
मेन्डेसको शट ब्रुगका कीपर सिमोन मिग्नोलेटले बचाएपनि रिबाउन्डमा आएको बललाई एमबाप्पेले गोलमा परिणत गरेका थिए । उनले ६ यार्ड बक्स नजिकबाट डिफेन्डर र गोलरक्षकलाई बिट गरेका थिए ।
त्यसको ५ मिनेटपछि नै एमबाप्पेले घरेलु टोली पिएसजीको अग्रता दोब्बर पारे । एन्जल डी मारियाले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पासलाई एमबाप्पेले भलीमार्फत गोल गरेका थिए ।
खेलको ३७ औं मिनेटमा लिओनेल मेस्सीले गोल गर्दै पिएसजीलाई ३-० को अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक मिग्नोलेटले बचाउने कुनै अवसर पाएनन्।
दुई गोल संगै संगै मेस्सीले यस सिजन च्याम्पियन्स लिगमा गोल संख्या ५ पुर्याएका छन्।
दोस्रो हाफको ६७ अौं मिनेटमा पाहुना टोलीका लागि माट्स रिट्सले एक गोल फर्काए । काउन्टर अट्याकमा बढेको आक्रमणलाई उनले राम्रो फिनिसिंग गरेका थिए ।
तर ७६ अौं मिनेटमा पिएसजीले पेनाल्टी पायो। मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र फल गरेपछि दिइएको पेनाल्टीलाई उनी आफैंले गोलमा परिणत गरे।
जित संगै पिएसजी दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ। पिएसजीले ६ खेलमा ३ जित, २ बराबरी र १ हारसहित ११ अंक जोड्दै दोस्रो रहयो । क्लब ब्रुग भने ६ खेलमा ४ अंकसहित पुछारमा रहयो।
यसै समुहको अर्को खेलमा आरबी लाइप्जिगले म्यन्चेस्टर सिटीलाई २-१ ले हराएको छ। १० खेलाडीमा सिमित भएको पाहुना टोलि सिटीलाई हराउदै लाईप्जिगले च्याम्पियन्स लिगको सुखद अन्त्य गरेको छ।
खेल गुमएपनि यस समूहबाट म्यानचेस्टर सिटी शीर्षस्थानमा रहँदै नकआउट चरण पुग्दा आरबी लाइप्जिग तेस्रो हुँदै युरोपा लिगमा पुगेको छ।