हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पोर्चुगल र फ्रान्स गएराति सम्पन्न विश्वकपको क्वालिफाएर खेलमा विजयी भएका छन्।
पोर्चुगलले अजरबैजान लाई उसकै घरेलु मैदानमा ३-० गोल अन्तरले पराजित गरेको छ।
फ्रान्सले भने घरेलु मैदानमा फिनल्याण्डलाई पराजित गर्यो।
पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेशको उत्कृष्ट प्रदर्शन रह्यो।
खेलको सुरुवातदेखि नै निकै आक्रामक देखिएको पोर्चुगलले २६ औं मिनेटमा बर्नार्डो सिल्भाको उत्कृष्ट गोलबाट खाता खोलेको थियो।
बुर्नो फर्नन्डेसले दिएको उत्कृष्ट पासलाई भली गर्दै बर्नार्दो सिल्भाले पोर्चुगललाई २६ औं मिनेटमा अग्रता दिलाएका थिए।
त्यस्तै आन्द्रे शिल्भाले ३१ औं मिनेटमा र डियोगो जोटाले ७५ औं मिनेटमा गोल गर्दै पोर्चुगलले अजरबैजान माथि ३-० को जित हासिल गर्यो।
जितसँगै पोर्चुगल समुह ए को शीर्ष स्थानमा उक्लिएको छ। ५ खेलमा ४ जित र १ बराबर गर्दै १३ अंकसहित पोर्चुगल तालिकाको शीर्ष स्थानमा छ भने अजरबैजान पाँच खेलमा एक बराबर र चार हार सहित पाँचौं स्थानमा रहेको छ।
अर्को खेलमा फ्रान्सले आफ्नो लगातार बराबरीको शृंखलामा पूर्णविराम लगाउँदै घरेलु मैदानमा फिनल्याण्ड विरुद्ध २-० को नतिजा निकालेको छ।
फिनल्याण्ड विरुद्धको जितमा फ्रान्सेली खेलाडि एन्टोनी ग्रिजम्यानले विश्वस्तरीय खेल प्रदर्शन गरे।
खेलको २५औं र ३५औं मिनेटमा दुवै निकै उत्कृष्ट गोल गर्दै ग्रिजम्यानले विश्व विजेता फ्रान्सलाई २-० गोल अन्तरको जित दिलाएका थिए।
खेलमा निकै कमजोर देखिएको फिनिश टोलीले फ्रान्सको गोलपोष्टमा खेल भरीमा केवल १ शट मात्र प्रहार गर्न सक्यो।
सुरुवातदेखि नै फिनल्याण्डलाई आफ्नो दवावमा राखेको फ्रान्सेली टोलीले खेल भरीमा गोल थप्ने निकै राम्रा मौकाहरू खेर फ्याकेको थियो।
जितसँगै फ्रान्स समूह डी को शीर्ष स्थानमा उक्लेको छ। ६ खेलमा ३ जित र ३ बराबरी गरेको फ्रान्स १२ अङ्क बटुल्दै समूहको पहिलो स्थानमा रहेको छ भने फिनल्यान्ड ४ खेलमा ५ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ।