हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिड्स युनाइटेडलाई स्ट्यामफर्ड ब्रिजमा हराउँदै चेल्सीले शीर्ष स्थान संगको दुरी छोट्याएको छ।
खेलमा १-० को स्थितिलाई उल्टाउँदै चेल्सीले ३ गोल गर्न सफल भएको थियो।
शनिबार बेलुकी भएको रोमाञ्चक खेलमा लिड्सलाई ३-२ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानको म्यानचेस्टर सिटी सँग को दुरी चेल्सीले २ अंकमा झारेको छ।
कुल पाँच गोल सम्भव भएको खेलमा ३ पेनाल्टी समावेश भएको थियो।
चेल्सीको जितमा मिडफिल्डर जोर्जिन्हो नायक बनेका थिए। दुवै गोल पेनाल्टी मार्फत गर्दै घरेलु टोलीलाई लिग अभियानमा महत्वपुर्ण ३ अंक दिलाएका थिए।
निकै प्रतिस्पर्धात्मक साथै रोमाञ्चक बनेको खेलमा लिड्सका तर्फबाट राफिन्हाले खेलको २८औं मिनेटमा गोल गर्दै युनाईटेडलाई १ गोलको अग्रता दिलाएका थिए।
तर चेल्सीका युवा स्टार खेलाडी मेसन माउन्टले एलन्सोको पासमा मिठो गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
दोस्रो हाफको ५७औं मिनेटमा लिड्सका राफिंहाले रुडीगरलाई डी एरिया भित्र फल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै जोर्जिन्होले चेल्सीलाई खेलमा पहिलो पटक अघि बढाए।
एक गोलले पछि परेपछि लिड्सले खेलमा आफ्नो गति बढाएको थियो। लिड्स युनाइटेडका लागि दोश्रो हाफमा मैदान छिरेका १९ वर्षीय जौ गेलहर्टले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए।
बराबरी तर्फ धकेलिएको खेलमा ९०औं मिनेटको अतिरिक्त समयमा चेल्सीका रुडीगरलाई लिड्सका खेलाडी क्लिचले फेरि लडाए पछि चेल्सिले खेलको तेस्रो पेनाल्टी पाएको थियो। उक्त पेनाल्टी मार्फत गोल गर्दै जोर्जिंहोले चेल्सीलाई महत्वूर्ण ३ अङ्क दिलाए।
चेल्सीको १६ खेलबाट ३६ अंक भएको छ भने सिटिले समान खेल खेल्दै ३८ अंक बनाएको छ।
हार बेहोरेको लिड्स भने अहिले तालिकामा १५औं स्थानमा रहेको छ।