हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| काठमाडौंमा भर्खरै सम्पन्न भएको प्रधानमन्त्री टि – २० कप क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले जितेको छ।
प्रतियोगिताको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गरेपछि एपीएफ क्लबले उपाधि दोस्रो पटक आफ्नो पोल्टामा पारेको थियो।
सदाझैँ प्रतियोगिताको यस संस्करणमा पनि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुमा परिचित नामकै बाहुल्यता रहेको थियो।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान आशिफ शेख प्रतियोगिताका उत्कृष्ट खेलाडी बन्न पुगेका थिए।
६ खेलमा २२७ रन प्रहार गरेका आशिफ, प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी मा शीर्ष स्थानमा रहेका थिए भने उनलाई पछ्याउँदै प्रदीप सिंह ऐरी र कुसल भुर्तेल दोस्रो र तेस्रो स्थानमा रहेका थिए।
तर यस सिजन नाम चलेका खेलाडीहरुलाई चुनौती दिन केही नयाँ अनुहार थपिएका छन्। ठुला प्रतियोगिता खेलिसकेका सागर ढकाल देखि लिएर टिनएजर खेलाडीहरु देव खनाल, लोकेश बामको प्रदर्शनले नेपाली क्रिकेटमा प्रतिभाशाली युवा खेलाडीहरुको उपस्थिति बलियो बनाएको छ।
रुपन्देहीमा जन्मिएका १७ वर्षीय देभ खनालले प्रतियोगितामा लुम्बिनी प्रदेशका लागि कुल चार खेल खेल्दा ३९.५ को औषतमा १५८ रन प्रहार गरेका थिए।
दुई खेलमा अर्धशतक प्रहार गरेका खनालको उच्च स्कोर गण्डकी विरुद्ध ५६ रनको रहेको थियो। उनले प्रतियोगितामा १४० को स्ट्राइक रेटमा १५८ रन जोडेका थिए जसलाई टीट्वेन्टी प्रतियोगितामा असरदार प्रदर्शन मान्नु पर्दछ।
त्यसैगरि ६ खेलमा १५२ रन जोडेका एपीएफका माथिल्लो क्रमका ब्याट्सम्यान लोकेश बाम उत्कृस्ट प्रदर्शन गर्ने अर्का युवा खेलाडी रहेका छन्। पहिलो खेलमै अर्धसतक बनाएका लोकेशले प्रतियोगितामा कुल २ अर्धसतक बनाउदै ३८ को औसतमा २११ रनको उत्कृस्ट स्ट्राइक रेटमा १५२ रन जोडेका थिए।
बलिंग तर्फ लुम्बिनीका सुदुर पश्चिमका आदित्य महताले प्रतियोगीतामा नयाँ अनुहारको रुपमा राम्रो छाप छोडेका छन्। ४ खेलमा केवल १३ ओभर बलिंग गर्दै ७.११ को औसतमा उनले ९ विकेट लिएका थिए त्यो पनि केवल ४.८६ को इकोनोमी रेटमा। उनको यो प्रदर्शन तारिफ योग्य रहेको छ।
लुम्बिनी प्रदेशका बायाँ हाते स्पिनर अनिल खरेलका लागि पनि प्रतियोगिता उत्कृस्ट बनेको छ। प्रदेश नं २ विरुद्ध ५ विकेट लिन भ्याएका उनले प्रतियोगितामा कुल ४ खेल खेल्दै १३ ओभर बलिंग गर्दा १० विकेट लिएका थिए।