हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इङलिस प्रिमियर लिग अंतर्गत मिडविक खेलमा आज लिभरपुल र म्यान्चेस्टर युनाइटेडको डर्बी खेल हुँदैछ।
इङ्लिस फुटबलमा निकै महत्वपूर्ण मानिने यस डर्बीमा लिभरपुलले आफ्नो घरेलु मैदानमा युनाइटेडको सामना गर्नेछ।
म्यानचेस्टर युनाईटेडको किर्तिमानी २०औ शिर्ष डिभिजन उपाधि बराबरी गर्ने लक्ष्यमा रहेको लिभरपुलका लागि आजको खेल महत्वपूर्ण रहेको छ।
अर्कोतिर म्यानचेष्टर युनाइटेडलाई आउँदो सिजन च्याम्पियन्स लिगमा छनौट हुने सम्भावनालाई जिवितै राख्न लिभरपुल विरुद्ध अङ्क बटुल्न जरुरी छ।
यसअघिको फिक्सचरमा म्यानचेष्टर युनाइटेडलाई उसकै घरेलु मैदानमा ५-० को फराकिलो गोलअन्तरले पराजित गरेको लिभरपुल निकै राम्रो फर्ममा रहेको छ।
शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटी विरुद्ध केवल एक अंकले पछि रहेको रेड्स, आज जित निकाल्न सकेमा लगातार दबाब दिन सक्षम रहनेछ।
प्रिमियर लिगमा गत डिसेम्बरमा लेस्टर सिटि विरुद्धको पराजय पश्चात घरेलु टोली लिभरपुलले पराजय बेहोरेको छैन।
अर्कोतिर म्यान्चेस्टर युनाइटेडको जारी सिजनमा लय भने राम्रो हुन सकेको छैन।
यसअघिको खेलमा पुछारमा रहेको नर्विच सिटि विरुद्ध पनि निकै कठिन जित निकालेको युनाईटेडले एभर्टन विरुद्ध लजास्पद हार बेहोरेको थियो।
चौथो स्थानमा रहेको टोटेन्ह्याम संग केवल ३ को दुरीमा रहेको म्यानचेस्टर युनाईटेडले, आउदो सिजन च्याम्पियन्स लिगमा सहभागिता जनाउनका लागि हरेक खेल जित्नु पर्ने दबाब रहेको छ।
लिभरपुललाई पनि म्यानचेस्टर सिटि बिरुद्ध अग्रता लिनकालागि आउने प्रिमियर लिगका खेलहरूमा अङ्क नगुमाउनु प्रमुख चुनौती हुनेछ।
म्यानचेष्टर युनाईटेड विरुद्ध पछिल्ला ५ प्रिमियर लिगका खेलमा ४ मा जित र एकमा बराबरी गरेको लिभरपुल, आज पनि सोही लक्ष्यलाई निरन्तरता दिने प्रयासमा रहेको छ।
प्रिमियर लिगमा लिभरपुल विरुद्ध लगातार सात खेलमा जित बिहिन रहेको युनाईटेडले पछिल्लो पटक २०१८मा २-१ ले खेल आफ्नो पक्षमा पारेको थियो।
तर लगातारको अपराजित यात्रा र निकै उच्च फर्ममा रहेको लिभरपुलले आज म्यानचेस्टर युनाइटेड बिरुद्ध जित निकाल्ने सम्भावना भने उच्च रहेको छ।