हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपेली च्याम्पियन्स लिग, विश्वकप पश्चात फुटबलमा अधिक कमाइ गर्ने प्रमुख प्रतियोगिताहरु मध्ये एक मानिन्छ।
युरोप सँगै समग्र फुटबल खेल्ने राष्ट्रहरुमा निकै प्रख्यात रहेको यस प्रतियोगिताका लागि प्रायोजकहरुले पनि मरिहत्ते गर्ने गरेका छन्।
यस प्रतियोगितामा एकै सिजन मात्र पाइला राख्न सके, जुनसुकै फुटबल क्लबले पनि एक देखि दुई सिजन सजिलै जिविकोपार्जन गर्न सक्दछन्।
त्यसैकारण प्रतिष्ठा सँगै द्रव्यको हिसाबले पनि निकै महत्वपूर्ण मानिन्छ युरोपेली च्याम्पियन्स लिग।
सहभागिता जनाए देखि अन्त्य सम्म हरेक खेलको पैसा कमाउन सकिने यस प्रतियोगिताको विजेताले, एकैपटकमा सय मिलियन भन्दा बढी कमाउन सक्दछ।
यसै सिजन पनि च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको किर्तिमानी १३ पटकको विजेता रियल मड्रिडले, प्रतियोगिताकै कारण सय मिलियन युरो भन्दा बढी आम्दानी गरिसकेको छ।
जसमा समूह चरण देखि लिएर नकआउट, क्वार्टर फाइनल, सेमीफाइनल र फाइनल सम्मका यात्राका लागि विभिन्न चरणमा पुरस्कार राशीहरु समावेश गरिएका छन्।
अझै पुरस्कार राशी केलाउने हो भने; समुह चरणमा सहभगिता जनाएदेखि हरेक खेल जिते पश्चात, समूह चरणमा शीर्ष दुईमा प्रवेश गरे पश्चात र अन्य चरणमा पुग्दा सम्मका लागि करोडौं रुपैया तोकिएको हुन्छ।
रियल मड्रिडलाई उछिन्दै लिभरपुल भने यस सिजनको सर्वाधिक कमाई गर्ने क्लबमा अग्रपंक्तिमा रहेको छ।
च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्न सम्म लिभरपुलले यस सिजन ११५ मिलियन भन्दा बढी कमाइ गरिसकेको छ।
यी दुवै क्लबले च्याम्पियन्स लिगको रकम मात्र नभई, प्रतियोगिताको हरेक खेलको प्रसारणहरु बाट पनि आम्दानी गर्ने गरेका छन्।
युरोपेली प्रतियोगितामा राम्रो गर्न सके मनग्य आम्दानी गर्न सकिने ज्वलन्त उदाहरण यस सिजनको सेमिफाइनलमा प्रवेश गरेको भिल्लारियल रहेको छ।
स्पेनी शिर्ष डिभिजनमा खासै राम्रो प्रदर्शन गर्न नसकेपनि च्याम्पियन्स लिगको प्रदर्शनका आधारमा उसले प्रतियोगिताको रकम र टेलीविजनको प्रसारण अधिकार गरेर झन्डै ८० मिलियन युरो भन्दा बढी आम्दानी गर्नेछ।
लिभरपुल र रियल मड्रिडको फाईनलको प्रदर्शनले पनि आम्दानी अझै बढ्ने छ। जसमा विजेता र उपविजेताका लागी २० र १५ मिलियन युरो पुरस्कार राशि रहेको छ।