हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टोली र प्रशिक्षक अब्दुल्लाह अल्मुताइरि बिचको विवादको प्रतिवेदन आज बुझाइने भएको छ।
झन्डै एक महिना अघि सुरु भएको नेपाली फुटबलको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघले ३ सदस्य छानबिन टोली गठन गरेको थियो।
आउँदो एसियन कप छनौट प्रतियोगिताको लागि बन्द प्रशिक्षण क्याम्पमा रहेका खेलाडीहरुले प्रशिक्षकको कार्यशैलीप्रति आपत्ति जनाउँदै प्रशिक्षण छाडेका थिए।
खेलाडीहरुले आफूले बस्नु पाउनुपर्ने र राम्रो खान पाउनुपर्ने माग राख्दै प्रशिक्षक संग प्रस्ताव राखेपछि विवाद शुरु भएको खेलाडीहरूको भनाइ छ।
एन्फाको गत आइतबार बसेको कार्यसमिति बैठकले भिक्टर रानाको संयोजकत्वमा विदुर विष्ट र दीपक थापा सम्मिलित समितिलाई यस घटनाको तथ्य खोज्न जिम्मेवारी दिएको थियो।
घटनाको छानविनका लागि अखिल नेपाल फुटबल सङ्घको छानबिन समितिले पछिल्लो दश दिनमा प्रशिक्षक सँग असन्तुष्टि जनाएका १० खेलाडीसँगै राष्ट्रिय टोलीका वर्तमान प्रशिक्षक अल्मुताईरी सँग बयान लिएको थियो।
विवाद बाहिर मिडियामा आए लगत्तै नेपाली राष्ट्रिय फुटबल टोलीका १० खेलाडीले र प्रशिक्षक अब्दुल्ला दुवैले आ-आफ्नो तर्फबाट अखिल नेपाल फुटबल संघलाई घटनाबारे पत्र पठाएका थिए।
विवाद उत्कर्षमा पुगेपछि राष्ट्रिय फुटबल टोलीका १० खेलाडीले प्रशिक्षण छाडेका थिए।
उनीहरुका स्थानमा अन्य खेलाडीहरुलाई सामेल गराएर नेपाल फुटबल सङ्घले एसियन कप छनौटका लागि टोलीको घोषणा गरिसकेको छ।