हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोना करिब दुई दशकको अन्तराल पछि युरोपियन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ।
समूह चरणको अन्तिम खेलमा बुधबार बेलुकी बायर्न म्युनिख विरुद्ध ३-० गोल अन्तरले पराजित हुँदै बार्सिलोनाले यसवर्षको च्याम्पियन्स लिग यात्रा टुंग्याएको हो।
बायर्नको घरेलु मैदान एलीयान्ज अरिनामा भएको खेलमा पाहुना टोलीलाई म्युनिखले पहिलो हाफको मध्यान्ह पछि आफ्नो पकडमा राखेको थियो।
बायर्न म्युनिखका लागि लियोरी साने र थोमस मुलरले गोल गर्दै बायर्न म्युनिखलाई पहिलो हाफमै २-० को अग्रता दिलाएका थिए।
बार्सिलोनाका लागि पहिला हाफमा डच खेलाडी मेम्फिस डिपेले सुरुवातमै पाएको मौकालाई पोस्ट बाहिर प्रहार गरेपछि बार्साले अग्रता लिने मौका गुमाएको थियो।
बायर्न म्युनिखले पहिलो हाफको अन्त्यतिर दुई गोल गर्दै खेलमा आफ्नो पकड जमाएको थियो। थोमस मुलरले पहिलो हाफको ३४औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाएका थिए।
ठीक त्यसको ९ मिनेटपछि ४३ औं मिनेटमा किङ्सले किम्यानको पासमा गोल गर्दै जर्मन विंगर लियोरि सानेले बायर्नलाई पहिलो हाफमा २-० को सहज स्थितिमा पुर्याएका थिए।
दोस्रो हाफमा झन् आक्रामक भएको बायर्नले गोल गर्ने थुप्रै अवसरहरु गुमाएको थियो।
बायर्नका लागि तेस्रो गोल खेलको ६२औ मिनेटमा जमल मुसियालाले गरेका थिए। खेलमा थप गोल नभएपछि बायर्नले पुनः एकपटक बार्सिलोनालाई पराजित गरेको हो।
यसघि समुहचरण को पहिलो लेगमा बार्सिलोनाको घरेलु मैदानमै बायर्न म्युनिखले ३-० को नतिजा निकालेको थियो। नतिजा संगै अब बार्सिलोनाले सन् २००३ को सिजन पश्चात युरोपा लिग खेल्ने छ। समुह चरणमा तेस्रो स्थान हात पारे संगै बार्सिलोना युरोपामा घटुवा भएको हो।