हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा बायर्न म्युनिख र युभेन्टस ले आफ्नो स्थान पक्का बनाएका छन्।
मंगलबार बेलुकी भएको आ आफ्नो खेलमा जीत हात पार्दै दुई टोली यसपटकको नकआउट चरणमा पुग्ने प्रथम दुई टोली भएका छन्।
बायर्न म्युनिखले लगातार चौथो जित हात पार्ने क्रममा पोर्चुगिज टोली बेन्फिकालाई ५-२ गोल अन्तरले पराजित गर्यो।
म्युनिखमा भएको खेलमा घरेलु टोलीलाई शानदार जीत दिलाउने क्रममा स्टार फुटबलर रोबट लेभान्डोस्कीले च्याम्पियन्स लिग करियरको चौथो ह्याट्रिक पूरा गरे।
लेवान्डोवस्कीले खेलको २६औं, ६१औं र ८४ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए भने गन्याब्रीले ३२औं तथा लियरी सानेले ४९औं मिनेटमा गोल गर्दै बायर्नलाई फराकिलो जीत दिलाए।
वेन्फिकाका तर्फबाट दुई गोल मोराटोले ३८औं मिनेटमा र डार्विन नुनेजले ७४औं मिनेटमा गरेका थिए।
४ खेलमा लगातार जित निकाल्दै १२ अंकका साथ बायर्न म्युनिख अर्को चरणमा पुगेको छ भने दोस्रो स्थानमा बार्सिलोना बसेको छ र उसलाई अर्को चरणमा पुग्न भने अझै एक खेल जित्न पर्ने समीकरण रहेको छ।
अर्को खेलमा युभेन्टस्ले जेनेटलाई ४-२ गोल अन्तरले पराजित गर्यो।
युभेन्टसको जितमा अर्जेन्टिनी स्टार पाउलो डीबालाले दुई गोल गरे। उनले खेलको ११औं मिनेटमा र दोस्रो हाफको ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।
त्यसै गरी फडेरीको चियसाले ७३औं र अल्भरो मोराटाले ८२औं मिनेटमा गोल गर्दै युभेलाई अर्को चरणमा पुर्याए।
पहिलो हाफको २६औं मिनेटमा लियोनार्दो बोनुकिको आत्मघाती गोलको मद्दतले जेनेटले खेल बराबरी गरेको थियो। उसका लागि सरदार अस्माउनले ९०औं मिनेटमा सान्त्वना गोल फर्काए।
समूह एच मा लगातार ४ जित निकाल्दै युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको हो। चेल्सी ९ अंकका साथ दोस्रो स्थानमा छ भने एक जित निकालेको खण्डमा चेल्सीले पनि नकआउट चरणमा आफ्नो सिट पक्का गर्नेछ।