हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जापानमा जारी ओलम्पिक अन्तर्गत पुरुष तर्फको फुटबल खेलमा ब्राजिल फाइनलमा प्रवेश गरेको छ।
भर्खरै सम्पन्न सेमिफाइनल खेलमा ब्राजिलले मेक्सिको लाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। ब्राजिलको यो लगातार तेस्रो ओलम्पिक फाइनल खेल हो।
निर्धारित ९० मिनेटको खेलमा दुबै टिम गोल गर्न असफल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न असफल रहे पछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो।
खेलको पहिलो हाफ केही आक्रामक देखिएतापनि दोस्रो हाफमा भने दुवै टीम निस्ताएको जस्तो देखिन्थ्यो। निर्धारित ९० मिनेटको अन्त्यतिर भने ब्राजिलले दुइवटा सुनौला मौकाहरु गुमाउन पुगेको थियो।
खेलमा खासै आक्रमण गर्न नसकेको मेक्सिकन टोलीले रक्षात्मक खेल को भने राम्रो प्रदर्शन गरेको थियो।
खेलमा सोचेजस्तो प्रदर्शन गर्न नसक्दा ब्राजिलले खेलका क्रममा केही सुनौला मौका गुमाउन पुगेको थियो। खेलको ८० औं मिनेटमा डानी अल्वेस ले दिएको उत्कृष्ट क्रस लाई हेडर गर्नेक्रममा रिचार्लिसनको प्रहार पोस्ट्मा लागेर फर्किन पुगेको थियो।
त्यस्तै खेलको ९२ मिनेटमा रिचार्लिसनको पासले सही दिशा नपाउँदा ब्राजिलले निर्धारित समयमै खेल जित्ने अर्को अवसर खेर फालेको थियो।
त्यसपछि थपिएको थप ३० मिनेटमा कतैबाट पनि गोल नभएपछि खेल पेनाल्टी तर्फ गएको थियो।
ब्राजिलका लागि पेनाल्टी भने निकै उत्कृष्ट रह्यो। मेक्सिकोले सुरुवाती चरणमै २ खराब पेनाल्टी हान्न पुगेपछि ब्राजिलियन खेलाडीमा आत्मविश्वास भरिएको थियो।
ब्राजिलका लागि पेनाल्टी गोल गर्ने क्रममा आर्सनलका मर्तिनेल्ली साथै डानि अल्वेस, ब्रुनो र रिनियर ले गोल गर्न सफल भएका थिए।
मेक्सिकोको सुरुवाति दुई पेनाल्टी नै खराब हुन पुगेपछि २-० ले पछि रहेको मेक्सिको थप दबाबमा आएको थियो। तेस्रो पेनाल्टी हान्न आएका रोड्रिग्वेजले जाली चुमाएता पनि मेक्सिको को जितका लागि भने पर्याप्त हुन सकेन।
स्वर्ण पदकका लागि ब्राजिलले अब जापान र स्पेनबीच को दोस्रो सेमिफाइनलको विजेतासँग भिड्ने छ। यस्तै मेक्सिकोले भने सो खेलको पराजित टिमसँग तेस्रो स्थान( कास्यपदक) लागि खेल खेल्नेछ।