हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं। बंगलादेशमा जारि साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले समुह चरणको अन्तिम खेलमा आज भारत विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।
भारतविरुद्ध मैदानमा उत्रदा नेपाल जितको खोजीमा हुनेछ। नेपाल भारत विरुद्ध अंक हात पार्न सकेको खण्डमा फाइनल पुग्ने छ।
अर्थात नेपालले खेल जितेमा अथवा भारत विरुद्ध बराबरी खेल्दै एक अंक हात परेको खण्डमा शिर्ष दुईमा रहदै फाइनलमा स्थान पक्का गर्ने छ।
अहिलेको स्थिति सम्म नेपालले ३ खेलमा २ जितसहित ७ अंक जोडेको नेपाल, शीर्ष स्थानमा रहेको छ ।
भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । भारत पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ ।
राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा पुग्नेछन् ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।
भारतले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा भुटानलाई हराएको थियो । तेस्रो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।