हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| टीट्वेन्टी विश्वकप प्रतियोगितामा समूह चरणका खेल लगभग सकिन लाग्दा, सुपर १२ का खेलहरु लाई लिएर क्रिकेटप्रेमी हरुमा उत्सुकता सुरु भएको छ।
शनिबारबाट सुरु हुने सुपर १२ को पहिलो खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन् ।
भर्खरै दुवईमा सम्पन्न भएको इन्डियन प्रिमियर लिग समीक्षा गरेर हेर्ने हो भने यसपटक भारतलाई सबैभन्दा बलियो प्रतिद्वन्दी मानिएको छ।
भारतीय टोलिमा खेलाडीहरूको तुलना गर्ने हो भने अहिले फुटबलमा म्यानचेष्टर सिटीको जस्तै रहेको छ। भारतीय क्रिकेट टोलीको बेन्च यति तगडा छ कि दोस्रो रोजाईको टोलीले पनि एउटा विश्वस्तरीय टिम बनाउन मिल्छ।
सधै तगडा रहने भारतीय ब्याटिङ क्रममा यसपालि बलरहरु को पनि कमी छैन।
अझ भारतीय टोलीलाई त भर्खरै सम्पन्न भएको टीट्वेन्टी प्रतियोगिता आइपिएलले पनि धेरै नै सहयोग पुर्याउने अपेक्षा गरिएको छ। संयोगबश संयुक्त अरब एमिरेट्समै यसपटकको टिट्वेन्टी विश्वकप भैरहेको छ त्यसैकारण पनि भारतीय खेलाडीहरुलाई वातावरण अनुकूल खेल्न धेरै नै सहयोग मिल्नेछ।
सबै पक्ष हेर्ने हो भने भारतीय कप्तान विराट कोहलीलाई कुन खेलाडी छान्ने भन्ने विषयमा चाहिँ टाउको दुखाई बन्न सक्छ। टि २० को श्रेणीकरण हेर्ने हो भने अहिले भारतीय टोलीमा रहेका लोकेश राहुल र विराट कोहली अन्तर्राष्ट्रिय टि-ट्वान्टी बरियतामा शीर्ष १० भित्र पर्दछन्।
वरीयताको शीर्ष १० मा नपरेपनि आफ्नो ब्याटिंग क्षमताले विश्वमै कहलिएका रोहित शर्मा, इशान किशन, रिशभ पन्त, श्रेयष ऐयर(स्ट्यान्ड बाई), सुर्यकुमार यादब, हार्दिक पाण्डया जस्ता टीट्वेन्टी क्रिकेटमा नाम कहलिएका खेलाडीहरु यस पटकको टोलीमा समाबेश छन् खेल आफ्नो पक्षमा पार्ने क्षमता राख्दछन्।
भारतीय स्पिन बिभाग सम्हाल्न रभिन्द्र जडेजा,अक्षर पटेल, आर आश्विन, राहुल चाहर जस्ता अनुभवी खेलाडीहरूको बाक्लो उपस्थिति रहेको छ जसमा स्पिन अलराउन्डरको भूमिकामा प्राय खेलाडीहरु टोलीमा समाबेश भएका छन्। विश्वकै उत्कृष्ट घरेलु टीट्वेन्टी प्रतियोगिता आइपिएलले भारतको गल्लि- गल्लीबाट क्षमतावान क्रिकेटरहरुको भारतीय टोलीमा लर्को लगाइदिएको छ।
भारतीय टोलीलाई सधैं टाउको दुखाइको विषय बन्ने तिब्र गतिको बलिंगमा यसपाली उच्च फर्ममा रहेका जस्प्रित बुम्राह, मोहम्मद शामी, भुवनेश्वर कुमार, शार्दुल ठाकुर( स्ट्यान्ड बाई) जस्ता खेलाडीहरु रहेका छन् जसलाई आधुनिक क्रिकेटमा अहिले उत्कृष्ट वलरहरु मध्ये गनिने गरिन्छ।
भारतीय क्रिकेट टोलीमा अहिले प्रतिकूल अवस्थामा पनि नतिजा आफ्नो पक्षमा पर्दै जस्तोसुकै अवस्थामा खेल जिताउन सक्ने सक्ने खेलाडीहरुको बाहुल्यता रहेको छ।
सन् २००७को पहिलो ट्वेन्टी विश्वकप संस्करण जितेको भारतीय टोलीले त्यसपछि सन् २०१४ मा उपविजेतामा चित्त बुझाउँदा सन् २०१६ मा आफ्नै घरमा भएको विश्वकप प्रतियोगितामा सेमिफाइनलको यात्रा तय गरेको थियो। विश्वमै सर्वाधिक सफल ब्याट्सम्यान भनिएतापनि कप्तानको रुपमा भारतीय टोलीलाई उपाधि जिताउन नसकेका विराट कोहलीलाई यसपटकका टोलीलाई उपाधि विजेता हुँदै कप्तानी पदबाट विश्राम लिने सुनौलो मौका रहेको छ।